जापानी राजनीतिको ‘राजकुमार’, जो सबैभन्दा बढी समय सत्तामा रहे

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : ५७


काठमाण्डौँ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला आक्रमण भएको थियो । त्यसपछि उनको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको छ ।

उनी जापानको माथिल्लो सदन चुनावको लागि प्रचार गरिरहेका थिए। गोली लागेपछि आबेलाई कार्डियक अरेस्ट पनि भएको थियो । गोली लागेर आबेको घाँटीमा चोट लागेको थियो भने छातीबाट रगत पनि बगेको थियो ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आज बिहान शिन्जो आबेको बारेमा एक विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘म आबेको स्वास्थ्य लाभको लागि मेरो हृदयदेखि प्रार्थना गर्दछु। म यस आक्रमणको घोर निन्दा गर्दछु। यस्तो हिंसाको लोकतन्त्रमा कुनै स्थान हुँदैन।’ तर, जापानको सरकारी मिडियाले आबेको अस्पतालमा उपचारको क्रममा दुखद निधन भएको पुष्टि गरेको छ।

राजनीतिक फड्को
जापानका पूर्वविदेशमन्त्री शिन्तारो आबेका छोरा शिन्जो आबेलाई त्यहाँको राजनीतिमा राजकुमार भनिन्छ । एक हिसाबले उनी जापानको राजनीतिमा प्रभुत्व जमाउने परिवारबाट आएका हुन् । उनका हजुरबुवा नोबुसुके किशी जापानका प्रधानमन्त्री बनेका थिए।

आबे पहिलो पटक सन् १९९३ मा सांसद बनेका थिए । सन् २००५ मा उनलाई प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रिपरिषद्मा मन्त्री बनाइएको थियो । उनलाई मुख्य क्याबिनेट सचिवजस्तो महत्वपूर्ण भूमिका दिइएको थियो ।

सन् २००६ मा उनी दोस्रो विश्वयुद्धपछि जापानको सबैभन्दा कान्छो प्रधानमन्त्री बने । तर, एकपछि अर्को काण्डले उनको सरकारलाई पछ्यायो। यसपछि सन् २००७ को जुलाईमा उनको पार्टी लिबरल डेमोक्र्याटिक पार्टीले माथिल्लो सदनमा निकै दुःख खेप्नुपरेको थियो ।

र, सोही वर्षको सेप्टेम्बरमा उनले बिरामीको कारण आफ्नो प्रधानमन्त्री पद छोडे । सन् २०१२ मा आबे प्रधानमन्त्रीको सिंहासनमा फर्किए। उनले उपचारपछि आफु पूर्ण रुपमा स्वस्थ रहेको घोषणा गरेका थिए ।

त्यसपछि सन् २०१४ र २०१७ मा उनी पुनः प्रधानमन्त्री पदका लागि निर्वाचित भए । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेको कीर्तिमान उनको नाममा छ ।

प्रधानमन्त्रीको कुर्सीमा रहँदा आबेको लोकप्रियतामा धेरै उतारचढाव आए । तर, लिबरल डेमोक्र्याटिक पार्टीमा आबेको बलियो पकड भएका कारण उनको सिंहासनलाई चुनौती दिने कोही थिएन। यति मात्र होइन पार्टीले आफ्नो संविधान संशोधन गरी उनलाई तेस्रो कार्यकालको पार्टी अध्यक्षको अवसर दिएको थियो ।

आबेको जीवनमा एक नजर

  • आबे जापानका पूर्व विदेशमन्त्री शिन्तारो आबेका छोरा,
  • उनलाई त्यहाँको राजनीतिमा राजकुमार भनिन्थ्यो, उनका हजुरबुवा नोबुसुके किशी जापानका प्रधानमन्त्री थिए,
  • आबे पहिलो पटक सन् १९९३ मा सांसद बनेका थिए, सन् २००५ मा उनी प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्रिपरिषद्मा मन्त्री बने,
  • सन् २००६ मा उनी दोस्रो विश्वयुद्ध पछि जापानको सबैभन्दा कान्छो प्रधानमन्त्री बने,
  • २०१२ मा आबे प्रधानमन्त्रीको सिंहासनमा फर्किए,
  • सन् २०१४ र २०१७ मा उनी फेरि प्रधानमन्त्री पदका लागि निर्वाचित,
  • जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेको कीर्तिमान उनको नाममा,
  • आबेको जीवनको सबैभन्दा ठूलो लक्ष्य जापानको सैन्य शक्ति पुनर्स्थापित,
  • आबेले अर्थतन्त्रमा नीति अवलम्बन गर्ने तरिकालाई विश्वले ‘एबेनोमिक्स’को नाम दिएको थियो,
  • आबेले स्वास्थ्य कारणले गर्दा २८ अगस्ट २०२० मा राजीनामाको घोषणा गरेका थिए,
  • ८ जुलाई २०२२ मा जापानको नारा सहरमा उनीमाथि हमला, उपचारको क्रममा मृत्यु ।

विवादास्पद राष्ट्रवादी
आबे रक्षा र विदेश मामिलाहरूमा आक्रामक अडानका लागि परिचित थिए। दोस्रो विश्वयुद्धपछि लागू भएको जापानको शान्तिवादी संविधान संशोधन होस् भन्ने आबे चाहन्थे।

उनको राष्ट्रवादी विचारहरूले प्रायः चीन र दक्षिण कोरियासँग जापानको सम्बन्धलाई तनावपूर्ण बनायो। सन् २०१३ मा उनले टोकियोको यासुकुनी मन्दिरको भ्रमण गरे । यो मन्दिर दोस्रो विश्वयुद्ध अघि र त्यसको समयमा जापानको सैन्यकरणको प्रतीक रहेको छ। यही कारण उनको भ्रमण विवादमा परेको थियो ।

सन् २०१५ मा आबेले आत्मरक्षाको अधिकारको लागि वकालत गरे ताकि जापानी सेनालाई आफ्नो देश र अन्य सहयोगीहरूको रक्षा गर्न तैनाथ गर्न सकियोस्। जापान र छिमेकी देशका जनताले यो सैन्यकरणको कडा विरोध गरे । तर, विपक्षीलाई बाइपास गर्दै जापानी संसदले यो विवादास्पद परिवर्तनलाई अनुमोदन गर्यो।

आबेको जीवनको सबैभन्दा ठूलो लक्ष्य जापानको सैन्य शक्ति पुनर्स्थापित गर्नु थियो। उनको सपना अझै अधुरो छ । र, जे भए पनि यो विषय जापानको राजनीतिमा एक धेरै विभाजित मुद्दा हो।

अर्थतन्त्रका चुनौतीहरू
तर, आबे जापानको सैन्य शक्तिलाई पुनरुत्थान गर्ने प्रयासका लागि मात्र नभई अर्थतन्त्रमा उनको छुट्टै दर्शनका लागि पनि परिचित छन्।

सिन्जो आबेले अर्थतन्त्रमा नीति अवलम्बन गर्ने तरिकालाई विश्वले ‘एबेनोमिक्स’को नाम दिएको थियो । एबेनोमिक्सको सिद्धान्तले अर्थतन्त्रलाई थप सहयोग प्रदान गर्ने र संरचनात्मक सुधारहरू गर्ने समावेश गर्दछ।

यी चरणहरू मार्फत् जापानको वृद्धि दर पहिलो कार्यकालमा बढ्यो, तर पछि अर्थतन्त्र सुस्त भयो। धेरै विज्ञहरूले एबेनोमिक्सको प्रभावकारितामा प्रश्न उठाइरहेका छन्। अर्थतन्त्रलाई सम्हाल्ने उनको प्रयास २०२० मा असफल भएको देखिन्छ। जापान सन् २०१५ पछि पहिलो पटक आर्थिक मन्दीमा प्रवेश गरेको छ ।

यसपछि सारा विश्व कोभिडको चपेटामा पर्यो । आबेलाई कोभिडसँग प्रभावकारी रूपमा व्यवहार नगरेको आरोप लगाइएको थियो। कोभिडबाट बच्न जापान सरकारले देशभर फेस मास्क वितरण गर्‍यो, जसलाई एबेनोमास्क भनिन्छ। मास्कको सानो आकार र जनतामा पुग्न ढिलाइ भएको कारण उनीहरुको धेरै आलोचना भएको थियो ।

उनका आलोचकहरूले पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अभियानका कारण जापानमा कोभिडको अवस्था नाजुक भएको बताउँदै आएका छन् ।

अफवाह र राजीनामा
अगस्ट २०२० देखि शिन्जो आबेको स्वास्थ्यको बारेमा धेरै प्रकारका अफवाहहरू उड्न थाले। एक पत्रिकाले आबेले आफ्नो कार्यालयमा रगत बान्ता गरेको दाबी गरेको थियो ।

जापानका मुख्य क्याबिनेट सचिव योशिहिदे सुगाले सुरुमा यी रिपोर्टहरूलाई अस्वीकार गरे, तर अगस्ट १७ मा शिन्जो आबेलाई टोकियोको केयो विश्वविद्यालय अस्पतालमा भर्ना गरेपछि अनुमान तीव्र भयो।

अन्ततः अगस्ट २८ मा आबेले आफ्नो राजीनामा घोषणा गरे। तर, उनले आफ्नो पार्टी एडिपीमा उत्तराधिकारीको घोषणा भने गरेका थिएनन् । यसले पार्टीभित्र नेतृत्वका लागि आन्तरिक द्वन्द्व निम्त्यायो । यस संघर्षमा योशिहिदे सुगा विजयी भए।


प्रतिक्रिया दिनुहोस्