बालेनले भेटे बाबुरामलाईः ४० बर्षे महानगरका ढलहरु फेर्न मागे सुझाव

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : ३१


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटघाट भएको छ । भेटमा काठमाण्डौँको समस्याको रुपमा रहेको फोहरको ब्यवस्थापनबारे छलफल भएको बताइएको छ ।

शुक्रबार भट्टराई निवासमा पुगेका बालेनले काठमाडौंको शहरी विकास र सभ्यताको विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
बाबुरामसँगै छलफलमा उनीकी पत्नी हिसिला यमी, छोरी मानुसी यमी भट्टराई पनि थिए । छलफलमा महानगरका ढलहरु ४० वर्ष पुरानो भएकोले फेर्नुपर्ने मेयर बालेनले बताएका थिए ।

उनले काठमाडौंमा सार्वजनिक सवारीलाई व्यवस्थित बनाउनको लागि एकीकृत ढंगले प्राधिकरण गठन गरेर एकद्वारा प्रणालीबाट सञ्चालन गर्ने योजना सुनाएका थिए । काठमाडौंको सभ्यता र विकाससँग सँगै कसरी लैजाने भन्नेबारे बाबुराम भट्टराईको रायसमेत बालेनले मागेका थिए ।

भट्टराई काठमाडौं देशकै राजधानीमा युवा पुस्ताले गरेको विद्रोह सकारात्मक भएको भन्दै राजनीतिमा पढेलेखेका युवाहरु आउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए । भेटघाटपछि भट्टराईले सामाजिक सञ्जाल टुईटरमा लेखेका छन् ‘काठमाडौं मनपा मेयर बालेन शाह र टिमसंग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक
विमर्श, सफलताको हार्दिक शुभकामना ।’


प्रतिक्रिया दिनुहोस्