अराजकताको बाटोमा धरानका मेयर, फेसबुकको हल्का टिप्पणीले घट्दै ‘कद’

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ३ : ५१


चन्द्रकान्त न्यौपाने 
काठमाण्डौँ । सामाजिक संजालको सही तरिकाले सदुपयोग गर्दा यसबाट धेरै लाभ लिन सकिन्छ भने यसको सही प्रयोग गर्न नजान्दा राम्रो ब्यक्तिलाई पनि यसले नराम्रो बनाउँछ। नराम्रो मात्र बनाउँदैन कहिल्यै उठ्न नसक्ने गरी सुताइदिन्छ। विश्व परिवेशलाई हेर्दा सामाजिक संजालको सही र अधिकतम प्रयोगले केही ब्यक्ति त राष्ट्रपति, प्रधानमन्त्री, सांसद, मेयर बनेका छन् ।

यसको उदाहरणको रुपमा अमेरिकाका हालका राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्र पति डोनाल्ड ट्रम्पलाई लिन सकिन्छ । नेपालको कुरा गर्ने हो भने काठमाण्डौँका मेयर बालेन्द्र शाह, धरानका मेयर हर्क साम्पाङले पनि सामाजिक संजालकै अधिकतम र सही प्रयोग गरेकै कारण यो सफलता हासिल गरेका हुन् । तर सामाजिक संजालको दुरुपयोगले केही ब्यक्ति जेल चलान भएका र बदनाम भएका उदाहरण पनि छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  १० बर्षसम्म फेसबुके राजनीति गरे। धरानको पानी लगायतका समस्यामा उनले फेसबुकबाट ठुलो खबरदारी गरे। बहालवालाहरुलाई थर्काए । धम्क्याए । यसमा धराने जनताले उनलाई सपोर्ट पनि गरे । त्यही सामाजिक संजालको बलमा ७९ वैशख ३० गतेको स्थानीय तहको निर्वाचनमार्फत् हर्क धरानको मेयर बने ।

तर आजभोलि त्यही सामाजिक संजालको कारण उनी सकिने हुन् कि भन्ने चिन्ता बढ्न थालेको छ। कारण उनको फेसबुके राजनीति । मेयर जस्तो सार्वजनिक पद धारण गरेका हर्कले आजभोलि फेसबुकमार्फत हलुका टिप्पणी गर्न थालेका छन् भने धम्की र उद्धण्डताको भाषा प्रयोग गर्न थालेका छन्।

सिमा र पदीय दायरा बिर्सेर उनले गर्ने टिप्पणी र धम्कीले आजभोलि धराने जनताले चित्त दुखाउन थालेका बताइन्छ। राष्ट्रको चौथो अंगलाई वेवास्ता गर्दै उनले हरेक गतिविधि आफ्नो फेसबुकमा राख्ने गर्दछन् । मिडियाको रुपमा उनले आफ्नो फेसबुक प्रयोग गर्ने गरेका छन्।

यही शिलशिलामा उनले पछिल्लो समय पोष्ट गरेको फेसबुकको भाषा हेर्ने हो भने उनी अराजकतातर्फ मोडिएका हुन् कि ? उद्दण्डतातर्फ पाइला चाल्न सुरु गरेका हुन् कि भन्ने भान हुन्छ । उनले के त्यस्तो लेखेका थिए त फेसबुकमा ? हेरौँ उनले लेखेका पछिल्ला २ फेसबुक स्टाटस।

धरान सडक खण्डको निर्माणका विषयमा उनले मंगलबार फेसबुकमा धम्कीपूर्ण भाषा गरेका छन्। उनले लेखेका छन् “तरहरा धरान बिचको सडक बनाउने ठेकेदारलाई सम्झेको छु। कुन दिन लाइभ भेटाउँछ । काम गर्न नसक्नेले जिम्मा किन लिनु ? फटाहा।”

नेपाली समाजका ठेकेदार बदमास छन् । फटाहा छन् । कामको ठेक्का लिएर उनीहरुले गुणस्तरीय काम पनि गर्दैनन् एकातिर भने अर्कोतिर समयमै काम गर्दैनन् । उनीहरुलाई तह लगाउन त जरुरी छ नै । तर एउटा मेयर पदमा आसिन भएको ब्यक्तिले यस्तो असिष्ट र धम्कीको भाषा प्रयोग गरेर उनीहरुको काममा सुधार आउँदैन।

मेयर हर्कले यहाँ धम्कीको भाषा प्रयोग गरेका छन् । तँतँ र मम बनाएका छन्, जुन सार्वजनिक पद धारण गरेको ब्यक्तिले किमार्थ गर्न हुँदैनथ्यो। ती ठेकेदारसंग उनले संवाद र सहकार्य गर्न जरुरी छ। मेयरजस्तो मान्छेले सन्तुलन गुमाएर लेखेजस्तो लेख्न र टिप्पणी गर्न हुँदैन।

यसैगरी उनले मंगलबार नै शिक्षकप्रति लक्षित गर्दै कालोमोसो दल्ने कुरा गरेका छन्, जुन मेयर जस्तो पदमा बसेको ब्यक्तिले गर्न हुँदैनथ्यो। मंगलबार सामाजिक संजालमा शिक्षकले विद्यार्थीमाथि गरेको निर्घात् कुटपिटको एउटा भिडिओ भाइरल बन्यो । त्यसैमाथि लक्षित गर्दै उनले फेसकुबाट शिक्षकलाई कालो मोसो दलेर सहर घुमाउने कुरा लेखे।

यस्तो थियो उनको भाषा ”आज एका बिहानैदेखि शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको भिडियोले दिमाग बिगारिराछ । धरानमा यो खाले घटना नघटोस् । यदि घटेमा सम्बन्धित शिक्षकलाई जेल हाल्ने त पक्का छ त्योभन्दा पहिले मोसो दलेर सहर घुमाइनेछ ।”

मेयर हर्कले यहाँ पनि निकै हलुको टिप्पणी गरेका छन् भने अशिष्ट भाषा प्रयोग गरेका छन् । मेयरजस्तो ब्यक्तिले यसरी फेसबुकमा कालोमोसो दल्ने, जेल हाल्ने कुरा गर्न सुहाउँदैन । खराब प्रवृत्तिलाई ठेगान लगाउने भनेको बार्ता र छलफल हो । त्यो सम्भव भएन भने त्यस्तालाई ठेगान लगाउने नेपाल प्रहरी छ । कानुन छ । तर यहाँ त धरानका मेयर आफै प्रहरी र न्यायाधीश बन्नेतर्फ उद्धत छन् ।

यसै कारणले उनीमाथि आजभोलि धेरै नकारात्मक टिप्पणी आउन थालेको छ। फ्यान फलोइङ विस्तारै घट्दो क्रममा छ।

धरान विकासको अल्पकालिन र दीर्घकालिन नीति बनाउन छाडेर मेयर हर्क फेसबुकमा सामान्य टिप्पणी गरेर बसेको कुरा पनि त्यहाँका जनतालाई मन परेको छैन।

शिक्षकको विषयमा लेखिएको पोष्टमा राजु बस्नेतले प्रतिक्रिया जनाउँदै लेख्छन् ‘मोसो नै दलिहाल्ने र मेयर साप। अराजक त भइन्न फेरी।’ बस्नेतको यो लेखाइमा हर्कले विस्तारै पदीय मर्यादा बिर्सेर काम गरेको बुझ्न सकिन्छ ।

सुवास राईले भने मेयर हर्कलाई बकम्फुसे र मुड्के कुरा नगर्न चेतावनी दिन्छन्। उनी लेख्छन् ‘तपाईंको काम पोलेसी बनाउने हो मेयर साब । यस्तो बकम्फुसे र मुड्के कुराले दुईचार जना मानिसलाई उत्तेजित पार्दै म जस्ता भुइँमान्छेलाई तपाईप्रतिको पङ्खा हुनुबाट वञ्चित नगरिदिनु है । तपाईँले बोलिरहँदा मलाई यो भाषा अलि हज्मला खानुपर्ने भो । तपाईँप्रतिको उच्च सम्मान उहीँ तपाईँको सानो पङ्खा इटहरीबाट।’

यस्तै हजारौँ टिप्पणी हर्कको फेसबुक स्टाटसमा देख्न सकिन्छ । उनका यी २ उदाहरण दिने खालका फेसबुक स्टाटस हुन् । उनले यस्ता स्टाटस हरेक दिनजसो लेखिरहेका हुन्छन्। राजनीतिज्ञहरु एउटा काँचो ब्यक्तिलाई मेयरको साँचो दिँदाको प्रतिफल धरानले भोग्न सुरु गरेको बताउँछन् ।

राजनीतिक अनुभव र ज्ञान नभएको मानिसले गर्ने ब्यवहार यही भनी उनीहरु ब्यंग्य गर्छन्। अरु बुद्धिजिवीहरुले पनि यस्तो प्रस्तुतिले हर्कको कद घट्दै गएको र विस्तारै उनले पदीय मर्यादा बिर्सेको टिप्पणी छन्।

धेरै ठुलो परिवर्तनको आशा गरेर धराने जनताले हर्कलाई स्वतन्त्र मेयर चुनेका हुन् । उनका अरु काम कारबाहीहरु ठिकै छन् तर उनी फेसबुकबाट सिद्धिने हुन् कि भन्नेमा जनतालाई चिन्ता छ। जथाभावी फेसबुकमा लेख्न छोडेर हर्कले गम्भिर र जनतामाझ सार्वजनिक गर्नु पर्ने विषय पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्दा ठिक हुने विज्ञहरु बताउँछन्। उनको पक्षमा लागेको शुभेच्छुक पनि मेयर सापले फेसबुकमामा जथाभावि नलेखेमै खुसी हुने बताउँछन्। उनलाई माया गर्ने काठमाण्डौँ शिव न्यौपानेले हर्कले तुरुन्त फेसबुकको जथाभावी लेखाइ बन्द गर्न सुझाउँछन्।

संगै स्वतन्त्र जितेका धनगढीका मेयर गोपाल हमाल र काठमाण्डौँका मेयर बालेन्द्र साहले भने आफ्नो पदीय मर्यादा बिर्सेका छैनन्। महत्वपूर्ण सूचना र जानकारी बाहेक उनीहरुले फेसबुकमा लेख्न छोडेका छन्। चुनाव जित्दा जे जति सामाजिक संजालमा जे जति लेख्ने काम हुन्थ्यो बालेन र गोपालबाट आज भोलि हुन छोडेको छ । मेयर बालेन त फेसबुकमा लेख्नु त कता हो कता मिडियामा पनि बोल्न छाडेका छन्। अब हर्कले पनि यही कुराको सिको गर्ने कि।


प्रतिक्रिया दिनुहोस्