बालेनको निर्णयले मारमा गरिखाने वर्ग, सडकबाट लखेट्नु नै विकल्प हो?

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ४ : ३२


काठमाण्डौँ । शुक्रबार दिउँसो बालुवाटारमा एक महिला र एक जना पुरुषले ठेलामा हरियो मकै बेच्दै थिए। ठेला हरियो मकैको घोँगाले टम्म भरिएको थियो । तर त्यत्तिकैमा काठमाण्डौँ महानगरका प्रहरीको एक जत्था आएर एक्कासी ती महिलालाई नियन्त्रण गर्यो। उनीमाथि गरिएको प्रहरीको नियन्त्रण शैली पटक्कै ठिक थिएन। बालुवाटारमा सडक नै जाम गरेर केही प्रहरीले ती महिलालाई नियन्त्रणमा लिँदै थिए।

केही प्रहरीले जर्वजस्ती ठेला गाडीमा हाल्दै थिए। प्रहरीले ठेला गाडीमा चढाउँदै गर्दा केही मकैका घोँगा सडकभरी छरिए। रुँदै कराउँदै ती महिलाले प्रहरीसंग केही नगर्नू भन्दै विन्तिभाउ चढाउँदै आक्रोश पोखेको भिडिओमा देखिन्छ। ती पुरुष पनि प्रहरीसंग कराउँदै थिए।

उनीहरुको पीर र गुनासो सुन्ने कुनै कोसिस नगरी उनीहरुलाई निरास बनाएर आधा मकै सडकमा छोडी प्रहरीले गाडी कुदायो। आफ्नो गरिखाने भाँडो ठेला र दुखले जम्मा गरी बेच्न ठिक्क पारेको मकै प्रहरीले खोसेपछि ती महिला एकातर्फ निरास थिइन् भने अर्कातर्फ प्रहरीको शैली र अत्याचारमाथि जाइलागेकी थिइन्। यो दृश्य जाममा परेका सर्वसाधारणले टुलुटुलु हेरिरहेका थिए। प्रहरीको यो अत्याचारपछि ती पुरुष पनि रिस र आवेगसंगै सडकको किनारा लागेको भिडिओमा देखिन्छ।

शुक्रबार देखिएको यहीे दृश्यले मेयर बालेन्द्र साह कडा आलोचनाको अचानोमा थिचिन सुरु गरेका छन्। बालेन्द्रको कामको प्रसंसा गर्नेहरुले अहिले सामाजिक संजालमा भाइरल बनिरहेको त्यही भिडियोको कारण उनको कटु आलोचना गर्न थालेका छन्।

महानगरीय प्रहरी ती महिलामाथि आक्रमणको शैलीमा त्यसै खनिएको होइनन्, हैजाको संक्रमण फैलन थालेपछि शुक्रबारदेखि सडकपेटीमा खुल्ला रुपमा बेच्न राखिने खानेकुरा जसरी पनि नियन्त्रण गर्नू भन्ने मेयर बालेन्द्र शाहको आदेशपछि  खनिएका हुन्।

हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले आजदेखि सडकमा चट्पटे, पानीपुरी लगायतका खानेकुरा बेच्न निषेध गरेको छ। आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ। यो प्रसंसनीय काम हो। महानगरमा हैजा फैलिएको अवस्थामा गर्न खोजेको प्रयास पनि राम्रो र उदाहरणीय हो। तर जुन तरिकाले गरिबको उठिबास लगाउन प्रहरी लागेको छन् । यो उत्तिकै निन्दनीय पनि छ।

मेयर साहले सडकपेटीमा खुल्ला खानेकुरा बेचेको देखिए यसैगरी ‘जाइलाग्नू’ भनेर प्रहरीलाई आदेश दिए या प्रहरी गरिब जनतामाथि ‘संयम’ हुन सकेन? पछि नै थाहा होला। तर, प्रहरीले जे, जसरी यी महिलामाथि अत्याचारको शैली प्रहरीले अपनायो यसले मेयर बालेनलाई आलोचना खानुपर्ने बनाएको छ ।

महानगरले गरेको यो निर्णय नयाँ हो। तर यो निर्णयबारे गरिबीले भाडाको कालो कोठरीभित्र रात कटाउने ‘भए खाने’ वर्ग कति जानकार छन् या बेखर ? यो सूचना त्यस्ता कति मानिसले थाहा पाए/पाएनन् ? त्यसको हेक्का र विश्लेषण नै नगरी प्रहरी एक्कासी गुण्डागर्दी शैलीमा प्रस्तुत हुनु राम्रो होइन।

पहिलो कुरा महानगरको निर्णयमा अटेर नै गरेको हो भने पनि प्रहरीले यस्तो शैली अपनाउनु हुँदैन। ती महिलामाथि प्रहरीको ज्यादती देख्दा लाग्छ ती प्रहरीले ‘मुस्कानसहितको प्रहरी सेवा’, ‘प्रहरी मेरो साथी’ जस्ता नाराको धज्जी नै उडाएका छन्।

गलत र नराम्रो काम नै गरे पनि प्रहरी त्यसरी जाइलाग्नु हुँदैन। सम्झाइबुझाई गर्ने हो भने जुनसुकै नेपालीले पनि सजिलै बुझ्न सक्छन्। तर, नेपाल प्रहरीको बर्दी लगाएर फरक मान्छेको अवतार लिएझैँ गरेर प्रहरी सर्वसाधारणमाथि जाइलाग्दा यसले बेलाबेलामा प्रश्न तेर्साएको छ। यस्तै अमानवीयता र अत्याचारको पराकाष्टा एमसीसी आन्दोलनमा नेपाल प्रहरीले एक जना युवकलाई निर्घात कुटपिट गरेर देखाएका थिए।

त्यहाँ स्थानीयसंग बुझ्दा ती महिलाको दैनिकी भनेको बिहानभर बिभिन्न ठाउँबाट मकै जम्मा गर्ने अनि चर्को घामको बीचमा आगोको रापको प्रबाह नगरी दिनभर पोलेर बटुवाहरुलाई खुवाने रहेछ। यसरी दैनिकी चलाउनेमाथि किन यति धेरै अत्याचार र अन्याय?

बालेन किन गरिबहरुमाथि यसरी खनिदै छन् यो घटनाले प्रश्न गर्ने बनाएको छ। बालेनको निर्णय अनुसार त धुलो र धुँवाकाबीच ठेलामा राख्ने पानीपुरी, चाउमिन, चटपटे बेच्नेलाई पो खेद्नू पर्ने हो।  मकैैमाथि प्रहरीको कडा नियन्त्रण भइरहँदा कतिपय स्थानमा  महानगरको निर्णयविपरित पानीपुरी चटपटे बेचेको देखिन्छ । हैजा फैलाउने कारक त यी खाने कुरा हुन् । यिनीमाथि प्रहरीको वास्तविक कडाई हुनुपर्दछ ।

अर्को कुरा प्रहरीले ब्यावहारिक कुरा पनि हेर्न सक्नु पर्दछ। हरियो मकैको घोँगा। बेच्दाखेरी तुरुन्त पोस्कर निकालेर उतिखेरै पोलेर खुवाउने चिज हो। पहिल्यै पोलेर धुलो धुँवामा सेकाएर उपभोक्तालार्ई असर हुने गरी बेचविखन गरिएको छ भने त्यस्तालाई यसैगरी उठाउनु पर्दछ तर पोष्कर पनि ननिकालिएका मकैमाथि प्रहरी किन यति धेरै निर्मम ? सँझाईबुझाई ती महिलालाई पठाउन सक्थे । त्यसरी खेदेर प्रहरीले के पायो ? मकै र महिलामाथि प्रहरीले दमन गरेर के पायो?  मकै ब्यापारीलाई छुट देउ भनेको पनि होइन तर अवस्था र स्थिति हेरेर कारबाहीमा उत्र मात्र भन्न खोजेको हो। अर्को कमजोरी प्रहरीले सडकमा छरिएका मकै नउठाई हिँडेको छ ।

आफ्नो निर्णयमा महानगर कडाईपूर्वक लाग्नु पर्दछ तर गरिबमाथि ब्यावहारिकता नहेरी यसरी लागि नै रहने हो भने मेयर बालेनको प्रसंसा संगै उत्तिकै आलोचनात्मक हुने छ। होइन बालेन गरिबमाथि यसरी खनिन नचाहेका हुन् भने ती प्रहरीमाथि बालेनले प्रहरी कक्षा चलाउनै पर्छ। यसरी निर्दोश गरिब जनताको टाउकोमाथि अत्याचार गर्ने प्रहरीमाथि पनि मेयर साहले कारबाही गर्नै पर्दछ। यो विषयमा मेयर बालेको दोष कदापी छैन तर निर्णय कार्यान्वयनमा लैजान खटिएका प्रहरी दोषी छ। उसले सर्वसाधारणमाथि गरेको ब्यावहार खेदयोग्य छ। प्रहरीले कहाँ कठोर बन्ने? कहाँ लचिलो बन्ने? भन्ने कुराको हेक्का राख्नै पर्दछ।

महानगरले दिएको आदेश पनि महानगरभित्र जुनसुकै ब्यापार व्यवसाय गर्ने जोकोहीले  मान्नु पर्दछ। आआफ्नो तरिकाले काम गरि खान पाउनु नागरिकको अधिकार हो। तर के गर्ने? के नगर्ने ? कस्तो चिज उपभोक्तालाई खुवाउनु पर्दछ? मैले खुवाएको चीजले उपभोक्ताको स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा पनि सम्बन्धितले बुझ्न जरुरी छ। ब्यापारी सानो होस् या ठुलो उपभोक्ताको स्वास्थ्यलाई हानी हुने काम कोहीकसैबट हुन हुँदैन। हैजा फैलिएको अवस्थामा मेयर बालेन साहले गरेको यो निर्णयलाई कठोर भएर पालना गर्नु नागरिकको दायित्व पनि हो। सामान्य आय भएर जिवीकोपार्जन गरिरहेका यस्ता सडक ब्यापारीको वैकल्पिक ब्यवस्थापनको बारेमा पनि महानगरले केही उपाय सोँच्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्