रेल चढेरै हङकङ पुगे चिनियाँ राष्ट्रपति सी, पश्चिमा मिडियालाई समाचार संकलनमा कडाई

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ४ : ३१


काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङ रेल चढेरै हङकङ पुगेका छन्।

साउथ चाइना मर्निङ पोष्टका अनुसार राष्ट्रपति सी सेन्जेनबाट हाइस्पिड रेल चढेर बिहीबार हङकङ पुगेका हुन्।

भोलि जुलाई १ मा हुने चिनियाँ शासन पुनर्वहाली भएको २५ औं वार्षिकोत्सव समारोहमा सहभागी हुन सी त्यहाँ गएका हुन्।

यसअघि बेलायती उपनिवेशमा रहेको हङकङ सन् १९९७ जुलाई १ मा ‘एक देश, दुई प्रणाली’अनुसार चल्ने गरी चीनलाई सुम्पिएको थियो।

हङकङमा ५० वर्षसम्म यो नीति चल्ने सम्झौता भएको थियो। तर सन् २०२० मा चीनले केही यस्ता कानुनहरु बनायो जसले बेलायतसँगको सम्झौताको उल्लंघन गरेको छ।

यतिबेला हङकङमा चीनको विरोध गर्न पाइँदैन। चीनको झण्डा र राष्ट्रिय गानको अपमान गर्नेलाई अपराधी करार गरिन्छ।

बेलायत, अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुले यतिबेला हङकङ स्वतन्त्र नभएको र चीनले एक देश दुई प्रणालीको अवज्ञा गरेको आरोप लगाउँदै आएका छन्।

यसक्रममा सी हङकङमा पुगेसँगै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। यस्तै पश्चिमा देशका मिडियालाई भने सी भ्रमणबारे समाचार संकलन गर्न कठिन भएको सीएनएनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्