घाटमा १४ वर्षे किशोरीको शव जल्दै थियो, प्रहरीले नियन्त्रणमा लियो

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ४ : ०१


वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

छपकैयास्थित आर्यघाटमा आधा जलेको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए । परिवारले घरमै विष सेवन गरेर उनले आत्महत्या गरेको बताएका छन् ।

घटनाबारे सूचना पाए लगत्तै प्रहरीले टोली परिचालन गरेर बुधबार राति नै शव नियन्त्रणमा लिएको थियो । घटनाबारे अनुसन्धानका लागि मृतकको दिदी, आमा र ठूलीआमालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार मलामी गएका केहि मानिस प्रहरीलाई देखेपछि भागेका थिए । घरका लोग्ने मानिस पनि सबै फरार छन, उनीहरुको खोजी र्भरहेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ । घटनाबारे प्रहरीमा जाहेरी दिने मानिस पनि कोहि आएका छैनन् । प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान प्रक्रिया अगडि बढाउने प्रहरीको तयारी छ ।

स्थानीयबासिन्दाका अनुसार महिमाको गाउँकै एउटा केटासँग प्रेम सम्बन्ध थियो । उनले बुधबार राति विष सेवन गरि आत्महत्या गरेको भन्दै अभिभावकले प्रहरी र गाउँलेलाई खबर नै नगरी शव जलाउन थालेका थिए ।


प्रतिक्रिया दिनुहोस्