आयल निगम व्यापारीको हातमा दिन सरकारले अर्बौँको चलखेल गर्दैछः पौडेल

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ३ : ३८


काठमाण्डौ । सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरेकोप्रति गम्भिर आरोप लगाउनु भएको छ ।

६४ औँ संसद् दिवसको अवसरमा बिहीवार काठमाण्डौमा भएको कार्यक्रममा वरिष्ठ नेता पौडेलले अर्बौँ रुपैयाँको आर्थिक चलखेर गरेर सरकारले आयल निगमजस्तो संस्थालाई व्यापारीको हातमा दिन खोजेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आफूले निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको बताउनु भयो । अब यो विषयलाई सञ्चारमाध्यमहरूले अघि ल्याउनुपर्ने बताउँदै उहाँले अर्बौँ रुपैयाँ कमाएर राजा बन्ने धयाउन्नमा नलाग्न मन्त्रीहरूलाई चेतावनी दिनुभएको छ ।

वरिष्ठ नेता पौडेलले किसानलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरूले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको गुनासो गर्नुभयो । पौडेलले अब ब्यवस्था परिवर्तन सम्भव नभएकाले ७० वर्ष सङ्घर्ष गरेर टुङ्गो लगाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरूले खोज्न नमिल्ने उहाँको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्