जसपामा अल्पमतमा परे बाबुराम, नयाँ पार्टी खोल्लान् या माओवादीमा फर्कलान् ?

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ३ : ०१


काठमाडौँ । आन्तरिक विवादमा फसेको सत्तारूढ दल जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई अल्पमतमा परेका छन् ।

प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्य इस्तियाक राइ, प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य प्रदीप यादव, राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंह यादव, सांसद रुही नाज, प्रज्ञा ढकाललगायत नेताहरु कार्यकारी अध्यक्ष उपेन्द्र यादवको पक्षमा खुलेपछि डा. भट्टराई अल्पमतमा परेका हुन् ।

योसँगै सत्तारूढ जसपा फुटको संघारमा पुगेको छ। बुधबार राति भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवबीच डेढ घण्टा लामो छलफल भएको थियो । छलफलमा अलग–अलग भएर अघि बढ्नेसमेत सहमति भएको विषय बाहिरिएको छ । अहिले जसपामा ३३ सदस्यीय कार्यकारिणी सदस्य र राष्ट्रियसभाबाहेक २१ सांसद् छन् । जहाँ भट्टराईको पक्षमा बहुमत पुग्ने सम्भावना छैन।

बहुमत नपुग्ने भएपछि उनी तनावमा रहेका श्रोतले बतायो । यही अवस्थामा अब पार्टीमा बस्न नसक्ने अवस्थामा छन् बाबुराम । उनी अब त्यहीँ अपमान सहेर बस्छन् या नयाँ दल खोल्न पट्टी लाग्छन् ? त्यो भने भन्न सकिने अवस्थामा छैन । नयाँ शक्ति पार्टी खोलेर असफल भएका उनी नयाँ पार्टी खोलेर एक्लो हुनुको विकल्प नभएको जानकारहरु बताउँछन् ।

यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार  माओवादीघटकहरु अब एक हुनुको विकल्प नरहेको बताएका छन् । विप्लव, मोहनवैद्द, बाबुराम लगायतलाई प्रचण्डले पार्टीमा फर्कन आग्रह गर्दै नयाँ ढंगल जानुपर्ने बताएका थिए । कमीकमजोरीको आत्माआलोचना गरेर पूर्वमाओवादीहरु एक भएर जाँदा जनयुद्धका उपलब्धिहरु संस्थागत हुने र अब पनि मुलुकमा ठुलो शक्ति हुन सकिने प्रचण्डको अनुमान छ । तर प्रचण्डको यो आग्रहलाई बाबुरामले सहजै स्विकार्न सक्लान् भन्ने धेरैलाई लाग्दैन । प्रचण्ड र बाबुरामबीच ठुलो अन्तरद्धन्द र मतभेद भएपछि बाबुरामले पार्टी खोलेको थिए ।


प्रतिक्रिया दिनुहोस्