कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन मन्त्रीसमक्ष आग्रह

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ४६


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नुभएको छ।

नेता पौडेलले राष्ट्रिय धान दिवसको अवसर पारेर आज कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवलाई भेटेर किसानलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो।

“मानो रोपेर मुरी फलाउने समयमा किसानले रासायनिक मल पाउन सकेका छैनन्, यो कृषिप्रधान देशका लागि दुःखको कुरा हो, कृषि क्षेत्रको उत्पादन बढाउन तत्काल मल उपलब्ध गराउनुपर्छ”, नेता पौडेलले भन्नुभयो।

भेटमा मन्त्री यादवले किसानलाई सहजरूपमा रासायनिक मल उपलब्ध गराउन सरकारले काम गरिरहेको बताउनुभयो।

“अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको छ, नेपालले भारतसँग मलका लागि जुन सम्झौता गर्यो, सोहीअनुसार मल प्राप्त नहुँदा मल आयातमा समस्या भएको हो”, उहाँले भन्नुभयो।

मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिकटन रासायनिक मल आउनेसमेत बताउनुभएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्