समयमा मल नभएपछि धानको बिउ ‘घाँटी’ मा नरोपेर कहाँ रोप्ने त ?

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ००


चन्द्रकान्त न्यौपाने

काठमाडौं। आज असार १५ गते, राष्ट्रिय धान दिवस। देशभर विविध कार्यक्रम गरेर मनाइएको छ। प्रमुख दलका शीर्ष नेतादेखि गाउँघरका सामान्य किसानसम्मले दही चिउरा खाँदै हिलोमा धान रोपेर दिवस मनाए।

धान उत्पादनको लागि चाहिने मल सरकारले उपलब्ध गराउन नसकेको अवस्थामा बेखुसीकैबीच नेपाली किसान दाजुभाइ दिदीबहिनीले धान दिवसमा रमाइलोको कसर बाँकी छोडेनन्, पंचेबाजासहित नाच्दै, असारे गीत गाउँदै धुमधामपूर्वक धान दिवस मनाए।

नेपालीले मात्र होइन, विदेशी पाहुनाले समेत सुकिलामुकिला कपडासहित हिलो खेतमा गएर धान रोप्दै रमाइलोका साथ मनाए। यसै सन्दर्भमा पोखरामा पनि धान दिवस मनाइएको छ। तर पोखराको हेम्जामा मनाइएको धान दिवसको संस्कृतिले भने आज सामाजिक संजाल उस्तै तात्यो। पोखरामा १७ औँ असारे रोपाई महोत्सव तथा दोश्रो राष्ट्रिय हिले हेम्जा महोत्सवको रुपमा धान दिवस मनाए।

आयोजकले सत्कारको लागि धानको बिउको माला बनाएर दुलाहा सिंगारे अतिथिलाई सिंगारेका थिए। मंचमा चढेका कुनै ब्यक्तिको पनि घाँटी रित्तो थिएन, धानको विउको मालाले छोपिएको थियो। यिनै फोटोहरु सामाजिक संजालमा चर्चाको विषय बने।

साहित्यकार तथा गजलकार दीप मिलनले त्यो महोत्सवको फोटो एउटा क्याप्सनसहित फेसबुकमा पोष्ट गरे। उनको क्याप्सन थियो ‘सायद आयोजकले अनाज खाँदैन। अन्य केही खाने गर्दछ।’

त्यसमा प्रतिक्रिया जनाउनेहरुले नेपाल सरकारलाई ब्यङ्ग्यबाण हानेका छन्। दीपक पुडासैनी नाम गरेका फेसबुक युजर लेख्छन् ‘आयोजकले जे गरे ठिक गरे, खेतमा बीउ रोपेर के गर्नु? खेतमा हाल्ने मल छैन, मल जति नेताको दिमागमा भएपछी बीउ त्यहिँ रोप्नु परेन त?’

पुडासैनीको यो लेखाइले नेपाल सरकारले किसानलाई समयमा मल दिन नसकेकोप्रति तीव्र ब्यङ्ग्य प्रहार गर्छ। हुन पनि मानो रोपेर मुरी फलाउने बेलाको यो अवस्थामा सरकारले किसानलाई मल दिन सकेको छैन। यसको चौतफी आलोचना भइरहेको छ।

दीप मिलनको त्यो फोटोमा प्रकृति कँडेलको प्रतिक्रिया छ ‘गर्नुभन्दा देखाउने चलन बढि भएपछि कस्को के लाग्ने रैछ र ? कहिं नभाको जात्रा हाम्रै नेपालमा।’

गोपाल पाखे्रलको प्रतिक्रिया भने अर्कै छ। ‘यस्तो छ सुकिला लुगाफाटो अनि गलमा धानको बिउको माला तेरिमा टोक्ने जिन्दगी। घरमा चामलको भात नपाग्दो रहेछ कि क्याहो यिनीहरुको घरमा क्या हो ?’ उनी लेख्छन्
डम्मबर राजकोटी ‘….लाई भन्दा देख्नेलाई लाज भनेको यही हो’ भन्दै आक्रोश पोख्छन् ।

कँडेल खगराजले भने नेपाली नेता र मुलुकको परिनिर्भतालाई यसफोटोले छर्लङ्ग देखाउँछ भन्ने आसयको भनाई लेख्छन् ‘किसानलाई मल, बिउ छैन् कृषिमा भारत निर्भर बनाउनेहरुका नाटक।’

यस्तै अरु धेरै प्रतिक्रिया त्यस फोटोले पाएको छ। रक्षा खड्काले नेपालीको देखाउने संस्कृतिमाथि कटाक्ष गर्दै लेख्छिन् भने काम नगर्ने तर फोटोमा देखाउने नेपालीको संस्कृति यो फोटोको लागि मात्रै हो।


प्रतिक्रिया दिनुहोस्