काठमाडौं। मुस्लिम धर्मगुरु पेगम्बर मोहम्मदको मजाक गरिएको विषयले भारतमा जातिय दंगा सिर्जना गर्ने देखिएको छ।
राजस्थान राज्यको उदयपुरमा यतिबेला सोही विवादलाई आधार मानेर मंगलबार दुई मुस्लिम समुदायका व्यक्तिले एक हिन्दु समुदायका व्यक्तिको घाँटी रेटेर हत्या गरिदिएका छन्।
यो घटनासँगै उदयपुरको मात्र नभएर राजस्थानभरको इन्टरनेट सेवा २४ घण्टाको लागि बन्द गरिएको छ।
टेलर संचालन गर्ने कन्हैया लालको हत्या गरेको भिडिओ ती दुई व्यक्तिले इन्टरनेटमा समेत अपलोड गरेका थिए। सो घटनापछि त्यहाँ थप हिंसा फैलने त्रासका कारण इन्टरनेट सेवा बन्द गरिएको हो।
हत्याराहरुले भाजपाकी पूर्व सांसद नुपुर शर्माले मुस्लिम धर्मगुरु पेगम्बर मोहम्मदबारे भद्दा मजाक गरेकाले ती व्यक्तिको हत्या गरेको भिडिओमा उल्लेख गरेका छन्। सो भिडिओ भने सामाजिक संजालबाट हटाइसकिएको छ।
प्रहरीका अनुसार हत्या गर्ने व्यक्तिहरु मुस्लिम समुदायका हुन्। उनीहरुको नाम मोहम्मद रियाज र गोस मोहम्मद हो। हाल उनीहरुलाई राजसमन्द जिल्लाबाट गिरफ्तार गरिएको छ।
नुपुर शर्मा
नुपुर शर्माले के भनेकी थिइन्?
भारतको सत्ताधारी पार्टी भारतीय जनता पार्टी भाजपाकी पूर्व प्रवक्ता नुपुर शर्माले मुस्लिम धर्मगुरुबारे विवादस्पद टिप्पणी गरेपछि विश्वभरका मुस्लिम राष्ट्रहरु आक्रोशित बनेका थिए।
उनको टिप्पणी भारतको लागि गम्भीर राजनीतिक समस्या बनेको थियो जसकारण उनलाई प्रवक्ता पदबाट मात्र नभएर पार्टीबाटै नै बर्खास्त गरियो।
एक टेलिभिजन बहसका क्रममा नुपुर शर्माले मुस्लिम धर्मगुरु पेगेम्बर मोहम्मद र नाबालिगबीचको आपत्तिजनक सम्बन्धबारे बोलेकी थिइन्।
यस्तो टिप्पणीपछि कतार, साउदी अरब, कुवेत, इरान, बहराइन र पाकिस्तानजस्ता मुस्लिम राष्ट्रले भारतको चर्को आलोचना गरेको थियो।
नुपुर शर्माको भनाइले इश्वरनिन्दाको पराकाष्ठा नाघेको भन्दै कतार, कुवेत र इरानले त भारतीय राजदूतहरुलाई बोलाएर स्पष्टीकरण सोधेको थियो।
यी राष्ट्रहरुमा लाखौं भारतीयहरुले काम गर्छन् र यही देशबाट भारतमा अरबौं डलर रेमिटेन्ट भित्रिन्छ। त्यसबाहेक यी राष्ट्रहरुले भारतको उर्जा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्छन्।
यी देशका नागरिकहरुले भारतसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने अभिव्यक्ति दिएका थिए। भाजपाले प्रवक्ता शर्मालाई निष्काशित गरेसँगै आफ्नो पार्टीले हरेक धर्म र संस्कृतीलाई उत्तिकै सम्मान गर्ने जनाएको थियो।
यसबीचमा भारतभित्रै मुस्लिम समुदायका मानिसहरुले बृहत प्रदर्शन गरेका थिए। पछिल्लोपटक भने यो घटनालाई नै आधार मान्दै दुई मुस्लिम समुदायका व्यक्तिले हिन्दु समुदायका नागरिकको हत्या गरेको हो।