अमेरिकामा अवैध रुपमा भित्रिएका ५१ आप्रवासीको मृत्यु प्रकरणमा दुई मेक्सिकन नागरिक पक्राउ

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ०१


टेक्सास। अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा हालै एउटा लरीमा ५१ जना आप्रवासी मृत फेला परेका थिए।

सान एन्टोनियो अमेरिका–मेक्सिकन सीमाबाट लगभग २५० किलोमिटर टाढा छ। सान एन्टोनियोको मौसम गर्मी महिनामा तातो हुन्छ।

यसै हप्ताको सोमबार त्यहाँको तापक्रम सोमबार ३९ दशमलब ४ डिग्री सेल्सियस थियो।

ती सबै आप्रवासीहरु अवैध तवरबाट अमेरिका प्रवेश गर्दै थिए। ती आप्रवासीहरुको लरीभित्रै निसास्सिएर मृत्यु भएको बताइएको छ।

यतिबेला ५१ जना मृत भेटिएको घटनामा मेक्सिकोका दुई नागरिकको संलग्नता रहेको पाइएको छ। एउटा लरीमा ३९ पुरुष र १२ महिलालाई खाँदेर ल्याउँदा उनीहरुले गर्मी मौसममा सास फेर्न नपाएर ज्यान गुमाएका हुन्।

अमेरिकी प्रहरीका अनुसार यतिबेला मेक्सिकोका हुवा फ्रान्सिस्को डि लुना–बिल्बाओ र हुवा क्लाउडियो डि’लुना–मेन्डेज गिरफ्तार भएका छन्। उनीहरुले नै उक्त लरीमा आप्रवासीहरु ल्याएका थिए। उनीहरुको साथबाट हतियार पनि प्राप्त भएको छ।

मानव तस्कर र अवैध हतियार मुद्दा उनीहरुमाथि लाग्नेछ। यस्तै एक अमेरिकी नागरिकले पनि चालकको भूमिका निर्वाह गरेको बताइएको छ। तापक्रम ३९.४ डिग्री सेल्सियस पुगेपछि उक्त लरी रोकिएको थियो।

गर्मी उग्र रुपमा हुँदा सो लरीमा एसी तथा पंखा केहीको व्यवस्था नहुँदा उनीहरुको मृत्यु भएको बताइएको छ।

अमेरिकी सपना बोकेका मानिसहरु हजारौं हुन्छन्। एसिया, अफ्रिका लगायतका क्षेत्रबाट दैनिक हजारौं मानिसहरु एजेन्टमार्फत् मोटो रकम तिरेर अवैध रुपमा अमेरिका घुस्न चाहन्छन्। मेक्सिकोका सीमा क्षेत्रमा दैनिक हजारौं मानिसहरु हुन्छन् जो अमेरिका भागेर जान चाहन्छन्। रोयटर्सको सहयोगमा


प्रतिक्रिया दिनुहोस्