काठमाण्डौँको केन्द्रमै ‘सडकपेटी’ को यो हालत् ! कसले हो हेर्ने ?

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : ०६


काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाको केन्द्रमै सडकपेटीको अवस्था विग्रँदा पैदलयात्रीलाई सास्ती भएको छ । मुख्यगरी धरहरादेखि जमलसम्मको सडक पेटीको अवस्था नराम्ररी बिग्रिएको छ । सडकपेटीमा विछ्याइएका ब्लक र पीच उप्किँदा बर्षाको समयमा हिलाम्य भएर सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।

सडकपेटी बिग्रिएको धेरै समय भइसक्यो तर सम्बन्धित निकायको ध्यान जान सकेको छैन । बर्षाको समयमा पानी पर्दा त्यहाँका खाल्डाखुल्डी भरिएर थामिनसक्नु हिलो हुन्छ । त्यसैमाथि २ दिनदेखि उठ्न नसकेको फोहर पनि त्यहीँ मिसिँदा थप दुर्गन्धित बनेर समस्या भएको यात्रुहरु बताउँछन् । ‘सडक गाडीले भरिएका छन् । हामी पैदलयात्री कहाँबाट हिँड्ने ? मानिस खचाखच हुँदा पालो कुरेर हिँड्नु पर्ने अवस्था छ’, पैदलयात्री गुनासो गर्छन् ।

मुलुकै गौरवको रुपमा रहेको धरहरा, वीर हस्पिटल, किनमेलको लागि सबैभन्दा ब्यस्त न्युरोड, दरबार हाइस्कुल, टुँडीखेल, खुलामञ्च पनि त्यही सडकको वरवर छन् । यसकारण पनि त्यहाँ विहानैदेखि साँझसम्म हजारौँ मानिस आवतजावत गर्छन् ।

बाग्लुङबाट भर्खर स्नताक तह पढ्न आएकी निर्मला पौडेलले काठमाण्डौँको केन्द्रमा रहेको सडकपेटीको हालत यस्तो हुनु दुखद् भएको बताउँछिन् । पेटी देखाउँदै उनी भन्छिन्, ‘काठमाण्डौँजस्तो सहरको व्यस्त ठाउँमा सडकपेटीको यो विजोग् हुनु लाजमर्दो कुरा हो । यसले त हामीले दुख पायौँ नै बाह्य पर्यटकलाई पनि विच्काउने भयो ।’

हुन पनि सडक सडकपेटी नराम्ररी विग्रेका छन् । महानगरको कार्यालय पनि नजिकै छ । मेयर, सांसद, मन्त्री, नेता पनि दिनहुँ त्यहीबाटो हिँड्छन् तर सडकपेटीको यो हालत देख्दैनन् भन्दै त्यहाँका स्थानीयले दैनिक अनलाइनसंग दुखेसो पोखे ।

‘यो सडक पेटी बनाउने जिम्मा सडक विभागको होस् या नगरपालिकाको’ स्थानीय भन्छन् ‘नगरलाई कर तिरेका छौँ । नगरपालिकाले यस्ता सानातिना समस्या समयमै देख्नुपर्दछ ।हामीले यसरी दुख पाउनु भएन ।’

काठमाण्डौँको मेयरमा स्वतन्त्रतर्फबाट बालेन्द्र शाहले जितेपछि परिवर्तनको आशा गरेका त्यस क्षेत्रका व्यवसायीले यतातर्फपनि ध्यान दिन आग्रह गरेका छन् । उनीहरुले भने ‘नगरको सडक पूर्वाधार एम्बुलेन्स पनि छ भन्ने सुनेका थियौँ । खै यतातिर आउँदैन । यो बर्षामा ब्लक हालेर चिटिक्क पार्न नसके पनि कमसेकम गिटीबालुवा हालेर हिलो नहुने बनाइदिए त आवतजावतमा सजिलो हुन्थ्यो नि ।’

यस्तै महानगरका अन्य स्थानमा पनि सडकपेटीको यस्तै अवस्था छ । पेटी र सडक बिग्रँदा बर्षेनी हिउँदामा धुलोे र बर्षाको समयमा हिलोले सताउने गरेको सर्वसाधारण बताउँछन् । यस विषयमा नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । चाँडै यस्ता समस्या बुझेर समाधानतिर जाने महानगरको सचिवालय बताउँछ । पानी परेसंगै मेयर शाह यस्ता समस्या बुझ्न दिनहुँ फिल्डमै रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्