जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता गलत: अध्यक्ष ओली

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ४५


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धतिलाई सवल बनाउन जसरी पनि चुनाव जित्नुपर्छ भन्ने गलत मान्यता त्याग्नुपर्ने बताएका छन।

जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबजःराष्ट्र निर्माणको आधार’ विषयक गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोहमा पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्र न्याय र समानतामा आधारित व्यक्ति र समाजको जीवन पद्धति भएकाले यसलाई समाजमा स्वीकृति स्थापित गर्ने साधनका रुपमा ग्रहण गर्न आग्रह गरे।

नेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को सार पनि त्यही भएकामा जोड दिँदै उनले जनता र समाजमा रहेका वर्ग, चिन्तन, पेसा, व्यावसाय, मनस्थिति र तिनका समाधानका उपायको खोजी जबजमा रहेको उल्लेख गरे।

अध्यक्ष ओलीले शान्तिपूर्ण र संवैधानिक बाटोबाट निहत्था जनतालाई सङ्गठित गर्दै समाज परिवर्तन र न्याय प्राप्तिका लागि जनताले सङ्घर्ष गर्दै आएको र त्यही माध्यमबाट परिवर्तन स्थापना गरेको सन्दर्भ उल्लेख गर्दै न्यायपूर्ण र सङ्गठित दबाबको सचेत प्रयासबाट मानव समाजभित्र रहेका विकृतिको अन्त्य गरी शान्ति र समृद्धि स्थापना गर्न सकिने बताए।

पुरस्कार प्रदान

कार्यक्रममा अध्यक्ष ओलीले फाउण्डेशनले सञ्चालन गरेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय, ललितपुरलाई प्रदान गरे। दुवै पुरस्कारको राशि एक/एक लाख रहेको छ।

सोताङ अर्गानिक फार्म प्रालि सञ्चालनमार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पुर्याएको योगदानस्वरुप उनलाई पुरस्कृत गरिएको हो भने प्रेरणा माध्यमिक विद्यालयले उमेर र विपन्नताको कारण शिक्षाको पहुँचबाट टाढा हुन पुगेका किशोरी र महिलालाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउने अभियानको नेतृत्व गरेकाले मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो।

फाउण्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने राष्ट्रिय पुरस्कार यसअघि हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, शहीद पार्क हेटौँडा, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेसन, प्राडा सुबोध शर्मा, स्टाफ नर्स सुनिता सहकारी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गरिसकेको छ। रासस


प्रतिक्रिया दिनुहोस्