इरान–अमेरिका आणविक वार्ता कतारमा, बिग्रिएको सम्बन्ध सुध्रिने अनुमान

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ५ : २१


काठमाडौं। इरान र अमेरिकाबीचको आणविक वार्ता केही दिनमा कतारमा हुने भएको छ।

सरकारी स्वामित्वको तेहरान टाइम्सले दुई देशबीचको अप्रत्यक्ष वार्ता कतारमा हुने जनाएको हो।

अमेरिकासँगको अवरुद्ध आणविक वार्ताका लागि इरानका शीर्ष आणविक वार्ताकार एवम् कतारका लागि इरानका राजदूत हमिदरजा देघानी दोहोमा प्रतीक्षा गरिरहेका उक्त पत्रिकाले जनाएको छ।

इरानका लागि अमेरिकी विशेष प्रतिनिधि रोब मालीले सोमबार राति कतार पुगेको पुष्टि गर्दै उनले कतारी विदेशमन्त्री अब्दुल हमान अल थानीसँग इरान समस्या समाधान गर्न संयुक्त कूटनीतिक प्रयासबारे विचारविमर्श गरेका थिए।

इरानसँगको वार्ताका लागि स्थान उपलब्ध गराउन कतारले सहर्ष सहमति जनाएको कतारी विदेश मन्त्रालयले बताएको छ।

खाडी राष्ट्रहरूको स्थायित्व, सुरक्षा र शान्तिका निम्ति आणविक वार्ता आयोजना गर्ने नयाँ क्षितिज खोल्न दोहाले सहमति जनाएको छ।

क्षेत्रीय सहयोग र शान्तिका लागि उसले आफ्नो भूमि वार्ताका खातिर उपलब्ध गराउन सहमति जनाएको कतारी कूटनीतिज्ञहरूले बताएका छन्।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेको समयदेखि हालसम्म अमेरिका र इरानबीच गतिरोध जारी छ।

अमेरिकाले इरानको युरोनियम उत्पादनको तिव्र वृद्धिको विरोध गर्दै आएको छ। ट्रम्पकै पालामा सन् २०२० को जनवरी महिनामा अमेरिकी कारवाहीमा इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या समेत भएको थियो।

पछिल्लो वार्ताले सम्बन्ध थौरै भएपनि सुधार हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्