मेरै आग्रहमा माओवादी शान्ति प्रकृयामा आएको होः गौतम

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ३ : ५६


काठमाण्डौँ । कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान) का संयोजक रहेका वामदेव गौतमले आफ्नै जोडबलमा तत्कालिन माओवादीलाई शान्ति प्रकृयामा ल्याएको बताएका छन् । मंगलबार नयाँ पार्टी खोलेका उनले पत्रकारहरुसंग माओवादीलाई शान्ति प्रकृयामा ल्याउन आफ्नो धेरै भूमिका रहेको बताए । उनले भने ‘माओवादीले संघर्ष गर्यो । केही समयपछि मेरो प्रचण्डसंग भेट भएको थियो । त्यतिबेला प्रचण्डले मलाई भेटमा भनेका थिए हामी शत्रुलाई समाप्त गर्ने दिशामा पनि छैनौँ । शक्ति आर्जन गर्न सक्ने अवस्थामा पनि छैनौँ के गरौँ काम्रेड ? यो अवस्थामा वार्ता गर्नुपर्दछ । तपाईहरु शान्ति प्रकृयामा सहभागि हुनुपर्दछ, मैले सुझाएको थिएँ ।’

आफूले त्यस्तो भन्दा अध्यक्ष प्रचण्ड मौन रहेको र बाबुराम भट्टराईले जवाफ फर्काएको उनले बताए । ‘तपाई शान्ति प्रकृयामा जानुहोस्भन्दा बाबुरामले जसका लागि यो क्रान्ति गर्यौँ, आज हामीसंग तपाईँ यस्तो प्रस्ताव राख्नुहुन्छ भनेर इन्कार गरे । त्यसपछि पनि मैले बाबुरामलाई दोहोर्याएर जतिसक्दो चाँडै सुरक्षित ल्याण्ड गर्नुहोस् भनेर सुझाएँ । त्यसको केही बर्षपछि माओवादी शान्तिप्रकृयामा आयो । २०६२ । ६३ को आन्दोलनमार्फत् राजसंस्था ढाल्यौँ । ऐतिहासिक काम भयो’, उनले सुनाए ।

संयोजक बामदेवले आफ्नै जगमा ठुला ठुला नेता जन्मिएको पनि पत्रकार सम्मेलनमा बताए । उनले भने ‘गण्डकीभन्दा पश्चिम मेरो जिम्मामा रहेको बेला नेकपा मालेको जग हालिएको थियो । त्यहाँबाट नै आजका ठुलाठुला कम्युनिष्ट भएका हुन् । यसको लागि ‘अहिले पनि संसदीय समितिमा सामेल भएर संसदीय संघर्ष गरिरहेका छौँ । यसले ठुलो काम गर्यो ।’ उनले कुनै कम्पनी खोलेर ब्यवसायिक लाभ लिन पार्टी नखोलेको बताए । यसले सबै कम्युनिष्ट पार्टीलाई एक बनाएर नेपालको विकास र समृद्ध गराउने बताए ।


प्रतिक्रिया दिनुहोस्