युक्रेन आक्रमणको पूर्व सन्ध्यामा पुटिनले भनेका थिएः बाइडेनलाई भेट्दिन, बरु हक्की खेल्छु!

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ३ : ५३


काठमाडौं। रुसले युक्रेनमा गत फेब्रुअरी २४ यता लगातार आक्रमण जारी राखेको छ। रुसी सर्तका कारण हालसम्म यस द्वन्द्व रोकिन सकेको छैन।

यस युद्धका क्रममा रुसका २० हजारभन्दा बढी सेना मारिएको अनुमान गरिएको छ। उता युक्रेनतर्फ भने ५ हजार सर्वसाधारण र १० हजार सेनासहित १५ हजार मारिएको आशंका छ।

युक्रेनले नेटोमा आवद्ध हुने आफ्नो दृढ इच्छालाई नत्याग्ने देखेपछि रुसले क्षेत्रीय सुरक्षामा चुनौती थपिएको भन्दै युक्रेनको लुहान्स्क र डोनेट्स्क क्षेत्रमा आफ्ना सेना पठाएर शान्ति कायम गर्ने बताएको थियो। रुसले यी क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेको थियो।

तर फेब्रुअरी २४ को रातदेखि युक्रेनका विभिन्न स्थानमा रुसी आक्रमण भएपछि युद्ध सुरु भएको थियो। रुसले युक्रेन आक्रमणलाई युद्ध भन्न रुचाउँदैन। उसले युक्रेनमा विशेष सैन्य अभियान संचालन गरेको बताउँछ।

जब युक्रेनमा आक्रमण हुन्छ भन्ने खबर अमेरिकी गुप्तचर निकायले प्राप्त गरेको थियो। त्यसबेलासम्म पनि रुसले आक्रमणको योजना नभएको भन्दै सो विषय इन्कार गरिरहेको थियो।

सो क्रममा युद्ध गर्न हुँदैन भन्ने पक्षमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों थिए। म्याक्रोंले युक्रेनमा आक्रमण हुनुभन्दा चार दिन अगाडि मात्र रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग युद्ध रोक्न आह्वान गरेका थिए।

टेलिफोन संवादका क्रममा म्याक्रोंले पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग विवादबारे छलफल गर्नुपर्ने पनि सुझाव दिएका थिए।

यद्यपी पुटिनले बाइडेनसँग छलफल गर्न मानेनन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार पुटिनले बाइडेनसँग छलफल गर्ने समयमा आफूले आईस हक्की खेल्ने उत्तर दिएका थिए।

पुटिनले भनेका थिए,‘बाइडेनसँग छलफल गर्नुभन्दा बरु इमानदार भएर भन्नुपर्दा म त्यो समयमा आईस हक्की खेल्न चाहन्छु।’

म्याक्रोंले युद्ध रोक्न अनेक प्रयास गरेका थिए। उनले पुटिन र युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीबीच वार्ताको मध्यस्थता गरिदिने पनि बताएका थिए। तरपनि पुटिनले त्यो नमानेको र अवस्थालाई झन् बिगार्ने कार्य नगर्न भनेका थिए।

एससीएमपीका अनुसार बिहीबार ‘अ प्रेसिडेन्ट, युरोप एन्ड द वार’ नामक वृत्तचित्र फ्रान्स २ टिभीमा सार्वजनिक हुँदैछ। जहाँ फ्रान्सेली राष्ट्रपति म्याक्रोंले कसरी युद्ध रोक्ने प्रयास गरेको थिए भनेर देखाइनेछ।

युद्ध निरन्तर जारी रहँदा युक्रेनलाई खरबौं अमेरिकी डलर घाटा लागिसकेको छ। त्यहाँका अनगिन्ती भवन र पूर्वाधार रुसी कारवाहीमा नष्ट भएका छन्। यद्यपी युक्रेनले लगातार प्रतिकार गरिरहेको छ। अमेरिका, बेलायत लगायत पश्चिमा राष्ट्रले निरन्तर हतियार दिएकाले रुसविरुद्ध युक्रेनी सेनाले घुँडा टेकेका छैनन्।

यस क्रममा युद्ध रोक्ने वार्ता नभएका पनि होइनन्। रुसले युक्रेनमा आक्रमण बन्द गर्न आफू तयार भएको तर केही सर्तहरु मान्नुपर्ने रुसको माग छ। तर उता रुसी सर्तहरु नाजायज भएको युक्रेनको भनाइ छ।

रुसका अनुसार युक्रेनले तत्काल रुसी सेनाविरुद्ध आक्रमण बन्द गर्नुपर्छ, संविधानमा बदलाव ल्याउनुपर्छ, तटस्थता स्थापना गर्नुपर्छ, क्राइमियालाई रुसी क्षेत्रको रुपमा मान्यता दिनुपर्छ र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिनुपर्छ।

यी सर्तहरु मानेको खण्डमा मात्र रुसले युक्रनमा आक्रमण रोक्नेछ। रुसले बारम्बार युक्रेनले विदेशी गठबन्धनलाई युक्रेनमा घुस्न दिन बन्द गर्नुपर्छ भनिरहेको छ।

वास्तवमा युक्रेनको संविधानमै युक्रेन नेटो गठबन्धनमा संलग्न हुनेछ भनेर उल्लेख गरिएको छ। यो संविधानमा बदलाव ल्याएर युक्रेनले तटस्थताको सिद्धान्त पालना गर्नुपर्ने रुसको प्रमुख सर्त हो।

युक्रेन पूर्व रुस अर्थात् सोभियत संघको राज्य थियो। सन् १९९१ मा सोभियत संघको पतनपछि युक्रेन अलग राष्ट्र बनेको थियो। रुसले युक्रेन र पश्चिमा राष्ट्रसँगको सम्बन्धलाई रुचाउँदैन।

आक्रमणपूर्व रुसले स्पष्ट रुपमा नेटोलाई युक्रेन सो संगठनमा आवद्ध नहोस् भन्ने ग्यारेन्टी चाहिएको बताएको थियो। तर नेटोले कुनै पनि युरोपेली राष्ट्र नेटोमा आवद्ध हुनसक्न भनेपछि रुसले युक्रेनमा हमला सुरु गरेको हो।

यसअघि सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया क्षेत्र कब्जा गरेको थियो। सो क्षेत्रलाई पनि युक्रेनले रुसी क्षेत्र मान्नुपर्ने रुसको सर्त छ।

यस्तै आक्रमण अघि रुसले युक्रेन सरकारको विरुद्धमा रहेका दुई युक्रेनी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको घोषणा गरेको थियो। यी दुई राज्यलाई पनि युक्रेनले स्वतन्त्र क्षेत्र मान्नु पर्ने रुसको भनाइ छ।

उता अन्य सबै सर्तमा सकरात्मक रहेता पनि युक्रेनले लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्य घोषणा गर्न तयार छैन्। एससीएमपी र एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्