७३ बर्षको उमेरमा बामदेवले खोले नयाँ पार्टी

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ३ : ४४


काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले ७३ बर्षको उमेरमा नयाँ पार्टी घोषणा गरेका छन्।

गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन्।

नेकपा (एमाले)बाट अलग भएर बसिरहेका नेता गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक पार्टी खोलेका हुन।

पत्रकार सम्मेलनमा उनले आफूले जिवनको महत्वपूर्ण समय नेपालको राजनीतिक आन्दोलनमा खर्चेको बताउँदै अबको समय एकिकृत कम्युनिष्ट पार्टी बनाउनमा लाग्ने बताए।

“नेपालका कम्युनिष्ट फुट्दा अरुले नै फाइदा लिए” उनले भने, “अब मेरो नेतृत्वमा नेपालका कम्युनिष्टलाई एकताबद्ध बनाउँछु।”

आफ्नो पार्टीले कम्युनिष्टलाई एकताबद्ध बनाएर पार्टी सञ्चालन गर्ने नेता गौतमको भनाइ थियोे।

पार्टी एकीकरण गर्ने विषयलाई जुन कम्युनिष्ट पार्टीले सम्मान गर्छ त्यहीसँग एकता गर्ने उनले बताए। कम्युनिष्ट पार्टी एकताका लागि तीन महिने अभियान सञ्चालन गर्ने गौतमले जानकारी दिए।

“हाम्रो पार्टीको मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पुनर्गठन गर्नु हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई कार्यगत एकतामा ल्याउन वातावरण निर्माण गर्नु अर्को उद्देश्य हो”, उनले भने।

आफूलाई मृत्युको बोध पनि भएकोले बाँकी जीवन विगतमा जस्तै देश र जनताको हितमा समर्पित गराउने उनको भनाई छ।

उनले भने, ‘आज म ७३ बर्षको भए छु म अब कति नै बाँच्छु। जन्मेपछि मृत्यु हुन्छ यो बुझेको छु।’

नेपालका कम्युनिष्ट पार्टी ४६ पटक पुनर्गठन भएको र त्यसमा आफू नै संलग्न भएको नेता गौतम भनाइ थियो। नयाँ पठन भएको सो पार्टीको अध्यक्षमा गौतम रहेका छन्।

पार्टी बहुपदीय प्रणालीमा हुने छ। एक अध्यक्ष, प्रत्येक प्रदेशमा इञ्चार्जको जिम्मेवारी बहन गर्ने गरी सात उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिएको छ।

पार्टीको ७५ सदस्यीय कमिटी, १५ जना नबढ्ने गरी स्थायी कमिटीको व्यवस्था गरिएको केन्द्रीय सचिवालयका सचिव डिवी कार्कीले जानकारी दिए। गौतमको संयोजत्वमा आठ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ।

उक्त सचिवालयमा सचिव कार्की तथा सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन।


प्रतिक्रिया दिनुहोस्