नेपालको दबाबका कारण अखिलको अध्यक्षबाट राजिनामा दिएको थिएँः भट्टराई

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : ०५


काठमाण्डौँ । हिजो एउटै थालीमा भात खाएका माधव नेपाल र योगेश भट्टराईविच अहिले जुहारी चलिरहेको छ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष नेपालले केही दिन अघि एक कार्यक्रममा १० भाइ एमालेमा दास भएर बसेको बताए ।

त्यो १० भाइमा योगेश पनि पर्दछन् । त्यसपछि नेपाल र भट्टराईको जुहारी चलिरहेको छ । यसैबिच एमाले नेता भट्टराइले नेपालले आफूहरुमाथि भद्धा र असिस्ट टिप्पणी गर्नुभएको भन्दै फेसबुकमार्फत् जवाफ फर्काएका छन् । वि सं २०५३ सालमा आफू अखिलको अध्यक्ष हुँदा तत्कालिन महासचिव रहनुभएका माधव कुमार नेपालको दैनिक दबाब र असहयोग रहेको भन्दै पदबाट राजिनामा दिएको लगायत १२ बुँदामा जवाफ फर्काएका हुन् ।

उनी लेख्छन् ‘कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौँ । अस्ति फेरी तल्लो स्तरमा झरेर बोल्नुभयो अनि मैले वहाँकै हित हुने गरी जीवन ऊपयोगि जवाफ फर्काएँ । समाजबादीका युवाहरुको चित्त दुखेछ । माफ गर्नुहोला । तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु । कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस् । पदमा रहिरहनुहोस्, शुभकामना।’

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा
१- पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।
२-वहाँमा थुप्रै राम्रा गुणहरु छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन् र यो जारी रहने छ ।
३-नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा उहाँ अन्तिमतिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखि नै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौँ ।
४- छैठौँ महाधिवेशनमा उहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।
५-सातौँ महाधिवेशनबाट वहाँ पुनः पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।
६-आठौँ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौँ ।
७- नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।
८- प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अबिश्वास प्रस्ताबमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।
९- नेकपा एमालेको बिभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो,अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।
१०- २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिब । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।
११। म माक्र्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि माक्र्सवादी दृष्टिकोणबाट हेर्ने गद्र्छु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन ।
पुनश्च्ः कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होईन ।
२०७९ असार १३ गते बिहान काठमान्डौ–धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण ।


प्रतिक्रिया दिनुहोस्