गगनतर्फ संकेत गर्दै झलनाथले भने-‘चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन्?’

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : ५५


काठमाडौं । नेपालको प्रतिनिधिसभाबाट पारित भएको एमसीसी सम्झौता बहुविवादित बनेको थियो।

सोही विवादका बीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त सम्झौतालाई पास गराई छाड्यो।

सो सम्झौता अमेरिकी सैन्य सम्झौता नभएको भन्दै काँग्रेस नेताहरु सरकारको पक्षमा खुलेर लागेका थिए। संसदमा काँग्रेस महामन्त्री गगन थापाले त सो सम्झौता पास भएर नेपालमा अमेरिकी सेना आएछ भने आफूलाई चार पाटा मुडेर थानकोट कटाइयोस् भन्दै अभिव्यक्ति दिए।
एमसीसीबारे नेपालमा भ्रम फैलाइएको उनको तर्क थियो।

पछिल्लो समय अ‍ेमिरकी स्टेट प्रोग्राम (एसपीपी) चर्चामा रहँदा सत्ता गठबन्धनकै नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सेना आए चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् भन्दै प्रश्न गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवादः सम्भावना र चुनौती विषयक कार्यक्रममा उनले नेपाली कांग्रेसका महामन्त्री थापाप्रति लक्षित गर्दै अमेरिकी सेना आयो भने मेरो चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन् भनी सोधेका हुन् ।

‘त्यतिबेलै मान्छेहरुले भनेका थिए एमसीसी पास भयो भने अमेरिकी सेनाले नेपालको पहाडमा परेड खेल्छन् भनेर’ खनालले भने, ‘त्यस्तो कहाँ लेखेको छ भनेर भाषण गरे कतिपयले, कतिपयले मलाइ चार पाटा मुडेर निकाल्नु भनेका थिए, आज चार पाटा मुडियोस् भन्नेहरु कहाँ छन्? यो डकुमेन्टले देखाएन? मैले संसदमा सोध्न बाँकी नै छ यो कुरा।’


प्रतिक्रिया दिनुहोस्