पश्चिमा राष्ट्रले प्रतिबन्ध लगाउँदै गर्दा भारतलाई व्यापार विस्तारको मौका, रुसमा खोल्दै सुपरमार्केट चेन

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : २४


काठमाडौं। हालै सम्पन्न ब्रिक्स सम्मेलनमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ब्रिक्स सदस्य राष्ट्रसँग व्यापारिक सम्बन्ध थप बढाउनेमा जोड दिएका छन्।

सन् २००९ मा स्थापना भएको ब्रिक्स समूहमा चीन र रुससँगै ब्राजिल, भारत र दक्षिण अफ्रिका सदस्य राष्ट्र छन्। यी उदाउँदा अर्थतन्त्र भएका राष्ट्रहरु आर्थिक उन्नती र सहकार्यको लागि वार्षिक सम्मेलनमा भेला हुन्छन्।

सो क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले यसवर्षको सुरुवाती तीन महिनामा ब्रिक्स सदस्य राष्ट्रसँगको आफ्नो व्यापार ३८ प्रतिशतले बढेको बताए। यद्यपी रुसमाथि पश्चिमा राष्ट्रहरुले प्रतिबन्धको घोषणा गरेका छन्।

जसकारण विश्वभर आर्थिक समस्या देखा परेका छन्। सो क्रममा पुटिनले पश्चिमा राष्ट्रको चर्को आलोचना गरेका छन्।

उनले पश्चिमा राष्ट्रको आलोचना गर्दै ब्रिक्स राष्ट्रहरु पश्चिमा राष्ट्रको गलत कामविरुद्ध उभिनुपर्ने बताए। रुसले युक्रेनमा आक्रमण थालेयता पश्चिमा राष्ट्रहरुले उमाथि कडा प्रतिबन्धहरु लगाएको छ।

जे भएता पनि ब्रिक्स राष्ट्रबीच मजबुत सम्बन्ध हुनुपर्ने र एकले अर्कालाई सहयोग गर्नुपर्नेमा पुटिनको जोड रहेको छ। उनले पश्चिमा राष्ट्रको आलोचना गर्दै उनीहरुले लगाएको आर्थिक प्रतिबन्धकै कारण विश्वमा संकट निम्तिएको आरोप लगाए।

‘इमानदार र पारस्परिक लाभकारी सहयोगको आधारमा मात्रै हामीले संकटको अवस्थाबाट बाहिर निस्कने उपाय खोज्न सक्छौँ’ पुटिनले भने। उनका अनुसार पश्चिमा राष्ट्रको स्वार्थकै कारण यतिबेला विश्वमा आर्थिक समस्या सिर्जना भएको छ।

यसैबीच पश्चिमा राष्ट्रहरुले कडा आर्थिक प्रतिबन्ध लगाएको रुसमा भारतले व्यापार विस्तार गर्ने मौका पाएको छ। भारतले रुसका विभिन्न स्थानमा सुपरमार्केटहरु खोल्ने भएको छ।

रुसका राष्ट्रपति पुटिन स्वयंले भारतलाई व्यापार विस्तारमा सहयोग पुर्याउने बताएका छन्। अमेरिका लगायतका राष्ट्रले भारतलाई रुसी तेल र ग्यास खरिद नगर्न भनिरहँदा पनि भारतले त्यो मानेको छैन।


प्रतिक्रिया दिनुहोस्