काठमाडौँ । उच्च अदालत बार एसोसिएसन पाटनमा नेकपा एमाले र नेकपा एकीकृत समाजावादी निकट वकिल मिलेका छन् । एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र समावजादी पेसागत कानुन व्यवसायी संगठन (एसपीएलए)ले आगामी चुनावमा संयुक्त प्यानल बनाउने सहमति गरेका हुन् ।
पाटन बारको नयाँ नेतृत्व छनोटका लागि असार २५ गते चुनाव हुँदैछ । आइतबार भएको सहमतिअनुसार १९ सदस्यीय बारमा पीपीएलएले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ सदस्य र एसपीपीएलएले उपाध्यक्ष, सहसचिव र ३ जना सदस्य उम्मेदवार उठाउने भएको छ ।
चुनावी तालमेलका लागि पीपीएलएले शिव अर्याल र एपीएलएले मेजर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।
सहमतिमा सर्वोच्च बार एसोसिएसन, काठमाडौँ जिल्ला बार एसोसिएसन र ललितपुर जिल्ला बार एसोसिएसनको आगामी चुनावमा पनि पीपीएलए र एसपीएलएले संयुक्त उम्मेदवारी दिई अटुटरुपमा सहकार्य गर्नका लागि संगठनहरुलाई सुझाव दिने उल्लेख छ ।