कतिपय पार्टीले धोका दिएपनि आगामी निर्वाचनसम्म गठबन्धनको आवश्यकता: माधव नेपाल

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ६ : ३०


काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी चौथो बैठकलाई सम्बोधन गर्दै उहाँले गठबन्धनको आवश्यकता अहिले पनि रहेकाले निर्वाचनसम्म कायम हुने बताउनुभयो।

“स्थानीय तहको निर्वाचनमा कतिपय पार्टीले धोका दिए । हामीले पनि राम्रोसँग पार्टी परिचालन गर्न नसकेर अपेक्षित परिमाण ल्याउन सकेनौँ, तर पनि गठबन्धन आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “गठबन्धन दलका घटकले मिलेर जाऊ भन्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पनि विगतमा भएका गल्तीको आत्मालोचना गरेर सङ्घीय निर्वाचनमा पनि गठबन्धन गरेर जाने भन्नुभएको छ।”

उहाँले स्थानीय तहमा जनताको मत प्राप्त गरेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले स्थानीय तहमा पाएको मतको आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा मत बढ्ने बताउनुभयो।

“हामीले १६५ निर्वाचन क्षेत्रमा जित्ने सम्भव नै छैन”, उहाँले भन्नुभयो, “तर उम्मेदवार उठाउने स्थिति कहाँ–कहाँ छ । वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्नुपर्दछ।”

नेता नेपालले मुलुकमा बढेको महँगी नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । विपन्न परिवार, गरिब परिवारलाई विशेष सहुलित प्रदान गर्ने कुरा आजको पाँचदलीय बैठकमा भएको बताउनुभयो।

“भ्रष्टाचार र कमिशनका जालो मुलुकमा छ”, उहाँले भन्नुभयो, “त्यसलाई नियन्त्रण गर्न सक्नुपर्दछ । भ्रष्टाचार नियन्त्रण गर्नका लागि अनुगमन प्रणाली बनाउनुपर्दछ।”

नेता नेपालले आफूहरूले बाध्य भएर पाँचदलीय गठबन्धन बनाएको बताउनुभयो । उहाँले नेकपा (एमाले)बाट विद्रोह नगरेको भए दास बन्नुपर्ने अवस्था आउने भनाइ राख्नुभयो । कम्युनिष्ट पार्टीले देशभक्तिको झण्डा, लोकतन्त्रको कुरा उठाउँदै आएकाले नेपाली जनताले कम्युनिष्टलाई मन पराएको बताउनुभयो।

विदेशी शक्तिसँग नझुक्ने, नेपालीको जनताको स्वाभिमान र नेपाली जनतामा देशभक्त शक्तिको रूपमा पहिचान गर्नुपर्ने बताउनुभयो । कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद हाबी भयो भने पार्टीले लोकतन्त्रको झण्डा उठायो भन्न नसकिने बताउनुभयो । पार्टी अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीभित्र आत्मालोचना गर्ने पद्धति विकास भएको बताउनुभयो।

कमिटीभित्र नभई बाहिर असन्तुष्टि व्यक्त गर्नेलाई छुट दिन नसकिने उहाँको भनाइ छ । “पार्टीको कमिटीभित्र शालीनताका साथ आफ्ना कुरा राख्न पाइन्छ । सङ्गठनका कार्ययोजना र पार्टीलाई कसरी गतिशील प्रभावशाली बनाउन सकिन्छ भन्ने कुरा सिर्जनात्मक छलफल गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “आ–आफ्नो ठाउँबाट पार्टीलाई स्थापना र जनताको प्यारो पार्टी कसरी बन्न सकिन्छ भन्नेमा छलफल गर्नुपर्दछ ।” उहाँले अनुगमन गर्दा कमी–कमजोरी भए सुधार्न सकिने बताउनुभयो । महासचिव वेदुराम भुसालले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्