काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङ र रुसी समकक्षी भ्लादरिम पुटिनले पश्चिमा राष्ट्रको चर्को आलोचना गरेका छन्।
दुवै नेताले ब्रिक्स सम्मेलनका क्रममा बिहीबार पश्चिमा राष्ट्रको आलोचना गर्दै ब्रिक्स राष्ट्रहरु पश्चिमा राष्ट्रको गलत कामविरुद्ध उभिनुपर्ने बताए।
पश्चिमा राष्ट्रले आफूहरुमाथि आर्थिक प्रतिबन्ध लगाएर हेपाहा प्रवृत्ति देखाएको पनि यी दुवै राष्ट्रका प्रमुखको भनाइ छ।
सन् २००९ मा स्थापना भएको ब्रिक्स समूहमा चीन र रुससँगै ब्राजिल, भारत र दक्षिण अफ्रिका सदस्य राष्ट्र छन्। यी उदाउँदा अर्थतन्त्र भएका राष्ट्रहरु आर्थिक उन्नती र सहकार्यको लागि वार्षिक सम्मेलनमा भेला हुन्छन्।
बिहीबार ब्रिक्स सम्मेलनमा रुस र चीन पश्चिमा राष्ट्रविरुद्ध आक्रामक देखिएका थिए। रुसले युक्रेनमा आक्रमण थालेयता पश्चिमा राष्ट्रहरुले उमाथि कडा प्रतिबन्धहरु लगाएको छ।
उता चीनले सिनजियाङ प्रान्तका मुस्लिमहरुको अधिकार खोसेर मानवअधिकार उल्लंघन गरेको भन्दै पश्चिमा राष्ट्रहरुले चीनमाथि आर्थिक प्रतिबन्धहरु लगाएका छन्। पश्चिमा राष्ट्रको आर्थिक प्रतिबन्धलाई चीनका राष्ट्रपति सी चिनफिङले क्रर कार्य भनेका छन्।
उनले भनेका छन्,‘हामीले शीतयुद्धको मानसिकता त्याग्नु पर्छ र टकराव रोक्नुपर्छ साथै एकपक्षीय प्रतिबन्धको विरोध गर्नुपर्दछ भने प्रतिबन्धहरूको दुरुपयोग गर्ने राष्ट्रलाई खबरदारी गर्नुपर्छ।’ ब्रिक्स सदस्य राष्ट्रमध्ये चीन सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो।
सो क्रममा पुटिनले ब्रिक्स राष्ट्रबीच मजबुत सम्बन्ध हुनेपर्ने र एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए। उनले पश्चिमा राष्ट्रको आलोचना गर्दै उनीहरुले लगाएको आर्थिक प्रतिबन्धकै कारण विश्वमा संकट निम्तिएको आरोप लगाए।
‘इमानदार र पारस्परिक लाभकारी सहयोगको आधारमा मात्रै हामीले संकटको अवस्थाबाट बाहिर निस्कने उपाय खोज्न सक्छौँ’ पुटिनले भने। उनका अनुसार पश्चिमा राष्ट्रको स्वार्थकै कारण यतिबेला विश्वमा आर्थिक समस्या सिर्जना भएको छ। रोयटर्सको सहयोगमा