काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आफूले त्यतिबेला भनेको कुरा सहि रहेको बताएका छन्।
एमाले विभाजित हुनु अघि भट्टराई माधव नेपाल पक्षमै थिए। एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने पार्टीको निर्णय अवज्ञा गर्ने चेतावनी दिएलगत्तै एमाले नेता भट्टराईले फेसबुक मार्फत यस्तो बताएका हुन।
उनले एकीकृत समाजवादीमा अहिलेको जस्तो अवस्था आउँछ भनेर आफूले पहिल्यै भनेको पनि उल्लेख गरेका छन्।
‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ। हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले विस्तारै चिन्दै जानुहुनेछ,’ लेखेका छन्।