काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा, नदी किनारमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ०९


काठमाडौं। काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ। जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ।

नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सूचना जारी गर्दै भनेको छ, ‘पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔं ।’

महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो नै प्रदेश १ र बागमतीका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

शनिबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश १ ,बाग्मती, गण्डकी र लुम्बिनीका एक९दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस्