शनिबार नेपाल स्टार्टअफ फेस्ट आयोजना हुँदै

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ९ : ३३


नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले यही असार ११ ते शनिबार नेपाल स्टार्टअफ फेस्ट २०२२ आयोजना गर्ने भएको छ।

राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा स्टार्टअफ फेस्ट आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रूपमा स्थापित गराउन नवप्रवर्तनकारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो।

स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि मञ्चले रचनात्मक भूमिका निर्वाह गर्दै आइरहेको जनाएको छ।

व्यवसायका स्वरूप परिवर्तन भइरहेको र नयाँ क्षेत्रमा काम गर्ने सम्भावना देशमा रहेको हुँदा त्यसलाई प्रोत्साहन गर्ने अभियानको लक्ष्य रहेको छ।

स्टार्टअपले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन्। देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको र तीमध्ये नेपाल उद्योग परिसङ्घ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइनेछ। पूँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसङ्घ स्टार्टअप अभियान समिति आयुसी केसीले बताउनुभयो।

यो कार्यक्रबाट स्टार्टअपलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइएको छ। युवा उद्यमीलाई प्रोत्साहन गर्न परिसङ्घले युवा उद्यमी मञ्चमार्फत युवालाई थप प्रोत्साहन गर्न स्टार्टअप आयोजना गर्न लागेको परिसङ्घका उपाध्यक्ष रोहित गुप्ताले बताउनुभयो। यो कार्यक्रममार्फत करिब रु ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिने जनाइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्