सिटी सफारी चलाएर अध्ययन र घरखर्च जुटाउँदै

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ४ : ५३


विराटनगर महानगरपालिका–११ निवासी विद्यार्थी पङ्कज राउत दैनिक १० घण्टा सिटी सफारी चलाउँछन्। उनले सिटी सफारी चलाएर आफ्नो अध्ययनलाई निरन्तरता दिएका छन।

यस वर्ष कक्षा १० को एसइई परीक्षा दिनुभएका राउतले कक्षा ८ देखि नै विद्यालय समयबाहेक सिटी सफारी चलाएर आफूसहित दुई भाइलाई पढाउँदै आएका छन।

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले राउतले यही कामबाट परिवारको भरणपोषणमा सहयोग गरेका छन। राउतको यो मेहेनती कार्यको छिमेकीहरु पनि प्रशंसा गर्दछन्।

बुवाको काम गर्ने उद्योगमा लडेर हात भाँच्चिएपछि राउत सानै उमेरदेखि परिवारको पालनपोषणका लागि सिटी सफारी चलाउन लागेका हुन। यो कायमको थालनीमा निकै कठिनाइ भएको उनको अनुभव छ ।

स्कुलमा हुँदा सिटी सफारी चलाएर दैनिक रु ५०० देखि ८०० सम्म आम्दानी गरेका राउतले अहिले दैनिक रु एक हजार २०० सम्म कमाउने बताउँछन्। विराटनगरस्थित जनपथ माविमा अध्ययन गर्नुभएका राउत कक्षामा प्रथम हुँदै आएकोमा अहिले सामाजिक काममा रुचि देखाउन थालेका छन। विभिन्न परोपकारी अभियानमा उनी लागेका छन।

“मेरो मात्र कुरा छैन, घरमा आमाबुवा पाल्नुपर्छ, मसँगैका दुई भाइलाई पढाउनु पर्दा खर्च बढ्ने भएकाले व्यवस्थापन पढ्ने निर्णयमा पुगेको छु”, उनले भने । एउटा भाइ कक्षा १० र अर्को कक्षा ६ मा अध्ययनरत रहेकोले उनीहरुलाई शिक्षा दिन आफूले दिनरात मेहेनत गरेको उनको भनाइ छ।

घर खर्चको लागि साहुसँग लिएको ऋण चुक्ता गर्नुपर्ने भएकाले बुबा र आमालाईसमेत ठेला किनिदिएर व्यवसायमा लागएका छन्। अहिले आँपको मौसम भएकाले आमा र बुवा यही व्यवसायमा आबद्ध भएको उनले बताए।

उनी विराटनगरका युवानेता एवं समाजसेवी वासिम आलमको नेतृत्वमा सञ्चालित विपन्नलाई निःशुल्क खाना, लुगा वितरणलगायतका समाजसेवाका अभियानमा समेत सक्रिय भएर लागेका छन। रासस


प्रतिक्रिया दिनुहोस्