कारबाहीमा परेका सिनियर खेलाडीलाई ससम्मानका साथ फिर्ता बोलाउने एन्फाको निर्णय

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ११ : २८


काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै सिनियर खेलाडीलाई ससम्मानका साथफिर्ता बोलाउने निर्णय गरेको छ।

बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर राखिएका सबै खेलाडीहरुलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको हो।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुमतिविना बन्द प्रशिक्षण छाडेर रात्री क्लब पुगेको भन्दै अनुशासनको छडि चलाएका थिए। कारबाहीमा परेका रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, सन्तोष तामाङसहित १० खेलाडीलाई प्रशिक्षक अल्मुताइरीले राष्ट्रिय टोलीबाट बाहिरनिकालेका थिए।

साथै, एन्फाको बैठकले मुख्य प्रशिक्षक अल्मुताइरीका विषयमा छानबिन गर्न गठित समितिको प्रतिवेदनलाई ध्यानमा राख्ने र अन्तर्राष्ट्रिय सम्बन्धमा खलल नपुग्ने गरी छलफल अघि बढाउने पनि निर्णय गरेको छ।

एन्फा अध्यक्षमा निर्वाचित पंकजविक्रम नेम्वाङले आफ्नो पहिलो कदम खेलाडीलाई टिममा फिर्ता बोलाएर अघि बढाएका छन्।


प्रतिक्रिया दिनुहोस्