विप्लवको पार्टीमा फेरि पहिरो, पुनसहित ४ नेताले छाडे साथ

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ११ : २२


काठमाण्डौँ । राष्ट्रिय राजनीतिमा दिनहुँ कमजोर बन्दै गइरहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा फेरि पहिरो गएको छ । पूर्व पोलिटव्युरो सदस्य तथा सेती(महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएपछि पार्टीमा पहिरो गएको हो । यस अघि पनि उनका निकटका नेताले विप्लवको साथ छोड्दै माओवादी केन्द्रमा गएका थिए ।

पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका हुन् । अब उनीहरुले माओवादी धारालाई एकीकृत गर्ने बताएका छन् ।

राजिनामा दिने क्रममा उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’।

अब एक्लै हिँडेर जनयुद्धले स्थापित गरेका एजेण्डा पुरा गर्न नसकिने उनीहरुको निष्कर्ष छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसंग ३ बुँदे सहमति गरेर भूमिगत छोडेका विप्लव त्यसपछि भने कमजोर बन्दै गइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्