कपासेमा जिप दुर्घटना: एक जनाको मृत्यु, ४ घाइते

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ११


वीरेन्द्रनगर । सुर्खेत दैलेख खण्डअन्तर्गत कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ।

वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किंदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथि मोडमा दुर्घटनामा परेको हो।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेसीमलका प्रहरी नायब निरीक्षक विमल डाँगीले जानकारी दिए।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। रुकुमपश्चिम चौरजहारी नगरपालिका घर भई जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा कार्यरत इञ्जिनियर धर्म बुढाथोकीको दुर्घटनामा परी मृत्यु भएको छ।

प्रहरी नायब निरीक्षक डाँगीका अनुसार दुर्घटनामा इञ्जिनियर (जल विज्ञान सहायक) सरस्वती विष्ट, सवारी चालक कोहलपुरका बाबुराम गुरुङ र असराघाटमा रहेको बाढी मापन केन्द्रमा कार्यरत कर्मचारीको श्रीमती घाइते छन्।

उनीहरुको अवस्था सामान्य रहेको छ। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्