अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरूको सहमति

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : २५


काठमाडौं। अमेरिकी सासंदहरूले बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन्।

सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन्। बफेलो, न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कूले बालबालिका मारिएका थिए।

मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गर्ने बन्दुक मालिकहरूमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिहरूबाट बन्दुक फिर्ता लिने व्यवस्था गरेको छ। नयाँ विधेयकले मानसिक स्वास्थ्य कोषमा अर्बौँ डलर उपलब्ध गराउने लक्ष्य लिएको छ।

विधेयकमा सहमति भएसँगै लामो समयदेखि बन्दुक हिंसाबाट पीडित अमेरिका अब त्यसबाट केही हदसम्म भएपनि मुक्त हुने विश्वास गरिएको छ। बन्दुक हिंसाका राजधानीका रूपमा दुर्नाम कमाएका वासिङटन डिसी, शिकागो, लस एन्जलस, डेट्रोइट र न्यु अर्लिन्समा अब नरसंहार नहुने आशा पनि गरिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक किन्ने उमेर १८ वर्षबाट बढाएर २१ वर्ष पुर्याइनुपर्ने बताएका थिए। यस्तै धेरै गोली लोड हुने म्यागेजिन किन्नबाट सर्वसाधारणलाई पनि प्रतिबन्ध लगाउनुपर्ने बताइएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्