दीयाले खुलाईन् बच्चाबेला भएको यौन दुर्व्यवहारको घटना, भन्छिन्ः ढिला भएपनि मुख खोल्नुपर्छ

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : १८


काठमाडौं। नाटक तथा सिनेमासँगै टेलिभिजन कार्यक्रम रोडिज मार्फत् चर्चामा आएकी अभिनेत्री दीया मास्केले यौन दुर्व्यवहारको घटनाबारे ढिला भएता पनि मुख खोल्नुपर्ने बताएकी छिन्।

हालै एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो जीवनमा भएका दुईवटा यौन दुर्व्यवहारका घटना खुलाएकी थिइन्।

सो क्रममा उनले बाल्यकालमा दुईपटकसम्म आफूले यौन दुर्व्यवहार खेपेको बताएकी छिन्।

उनी भन्छिन्,‘संसारमा सायदै कोही पनि त्यस्ता महिला छैनन् जसले यौन दुर्व्यवहार खेपेका छैनन्। कहीं ठूलो घटना घटेको छ र कहीं सानोतिनो। सानो घटनाले पनि केटीलाई मनोवैज्ञानिक रुपमा जिन्दगीभर असर पार्छ।’

‘तपाईंलाई ‘जुन त लाग्यो ताराले’ गीत थाहा हुनुपर्छ। म त्यो बच्चाहरुको ग्रुपमा थिएँ मेरै स्कुलमा। आठ वर्षका बच्चाहरु थियौं। ती बच्चामध्ये ठूलो म नै थिएँ। बसमा हामी खप्टेर सुतिरहेका थियौं। हाम्रो पिरियड पनि भएको थिएन। त्यसबेला मलाई केही असजिलो महसुस भयो। आँखा खुल्यो मेरो। त्यो बसको ड्राइभरले मेरो ब्रेस्ट समातिराख्या थियो। त्यसरी छुँदा त्यो बच्चालाई के रमाइलो भएको होला? कम्तीमा त्यो मान्छे ३० वर्षको होला। मलाई डर लाग्यो त्यसबेला। त्यही पनि सुतेको बहाना गरेर छोड्दिएँ।’

आफूमाथि विद्यालयका शिक्षकले पनि यौन दुर्व्यवहार गरेको उनको भनाइ छ। ‘मलाई किस गरे तँलाई पास गर्दिन्छु भन्या छ, म्याथ टिचरले। सिरियस्ली सर, तपाईंलाई अहिले मैले भेटें भने म छोड्नेवाला छैन। तपाईंलाई म एक झापड चाहिं दिन्छु’ उनी भन्छिन्।

यस्ता घटनाले महिलालाई मनोवैज्ञानिक रुपमा जिन्दगीभर असर पुग्ने उनको भनाइ छ।

उनी भन्छिन्,‘यस्तो कुरा बाहिर भन्न गाह्रो छ। १० वर्ष वा २० वर्षपछि पनि यस्तो कुरा आउन सक्छ, तर सुन्नु चाहिं पर्छ।’


प्रतिक्रिया दिनुहोस्