न्यायाधीश र वकिलबीच घुस डिल गरेको अडियो सार्वजनिक भएपछि बोलाइयो न्यायपरिषद्को बैठक

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ११ : ०२


काठमाडौँ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि आकस्मिक रुपमा न्यायपरिषदको बैठक डाकिएको हो।

न्यूज २४ टेलिभिजनमा मंगलबार साँझ सार्वजनिक भएको अडियोमा थुनामा रहेका तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै वकिल पोखरेलले न्यायाधीश कोइरालालाई भनेका छन्।

जसमा कोइरालाले तामाङलाई धरौटीमा छाड्ने आँट गर्छु भन्न सक्दैनन्। उनको बोलीमा केही डराएको जस्तो सुनिन्छ। तामाङ रिहा भएको विषय पत्रपत्रिकामा आएमा त्यसले आफ्नो जागिर जान सक्ने शंका पनि उनले गरेका छन्।

तर, वकिल पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा बोलेका छन्। अधिवक्ता र न्यायाधीशबीच करिब १० मिनेट कुरा भएको छ।

सिभिल सहकारीका पूर्व अध्यक्ष तामाङलाई ठगी र संगठित अपराध कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ७८ असोज १८ गते पक्राउ गरेको थियो। अहिले तामाङ डिल्ली बजार जेलमा छन्। उनीविरुद्ध काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ।

दिउँसो १ बजेका लागि तय भएको न्यायपरिषद्को बैठकमा सार्वजनिक अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्