हङकङको चिनारीको रुपमा परिचित ‘तैरिरहने’ यो रेस्टुरेन्ट अन्ततः डुब्यो समुद्रमा

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ०१


काठमाडौं। हङ्‌कङको तैरिरहने चर्चित रेस्टुराँ झन्डै ५० वर्षदेखि सञ्चालन भइरहेको ठाउँबाट सारिएको केही दिनपछि समुद्रमा डुबेको छ।

अज्ञात ठाउँतिर लैजाँदै गर्दा जम्बो नामक रेस्टुराँ साउथ चाइना सीमा डुबेको त्यसको माउ कम्पनीले जनाएको छ।

‘घटनाबाट एकदमै दुःखी भएको’ एबर्डीन रेस्टुराँ इन्टरप्राइजेजले बताएको छ। उसका अनुसार दुर्घटनामा चालकदलका कोही सदस्य चाहिँ घाइते भएका छैनन्।

कोभिड महामारीले असर पारेपछि सन् २०२० को मार्चमा उक्त रेष्टुराँ बन्द भएको थियो।

उक्त रेस्टुराँमा ब्रिटिश महारानी, टम क्रूज, रिचर्ड ब्र्यान्सनसहित ३० लाखभन्दा बढी अतिथिले परम्परागत चिनियाँ खानाको स्वाद लिएको विश्वास गरिएको छ।

त्यहाँ बन्ड चलचित्रसहित थुप्रै फिल्मको छायाङ्कन पनि गरिएको छ। तर खाना बन्द गरिएपछि कोभिड महामारीसँगै व्यापारमा ठूलो असर पर्‍यो।

जम्बो रेस्टुराँलाई हङ्‌कङको चिनारीको रूपमा लिने गरिन्थ्यो। यद्यपि सन् २०१३ देखि नै त्यो नाफामा थिएन।

हालै सो रेस्टुरेन्ट सारिएको थियो (भिडिओ)

सञ्चालकहरूका अनुसार पहिलाको स्थानबाट रेस्टुराँलाई अन्त लैजान थाल्नुअघि मरिन इन्जिनियरहरूबाट परीक्षण गर्न लगाइएको थियो र यात्राका लागि आवश्यक सबै अनुमति लिइसकिएको थियो।

नयाँ सञ्चालक पाउनुअघि तैरिरहने उक्त रेस्टुराँ नाम नखुलाइएको स्थानमा राखिराख्ने योजना थियो।

तर प्यारासेल टापुनजिक प्रतिकूल अवस्थामा परेको रेस्टुराँमा पानी पस्न थाल्यो र आइतवार डुब्न पुग्यो।

‘रेस्टुराँ डुबेको ठाउँमा पानीको गहिराइ १,००० मिटरभन्दा बढी छ र उद्धार कार्य गर्न एकदमै कठिन छ’ एबर्डीन रेस्टुराँ इन्टरप्राइजेजले भनेको छ।

सो रेस्टुराँलाई प्रभावित बनाउने अन्तिम कारण कोभिड महामारी भए पनि वर्षौँदेखि त्यसले आर्थिक समस्याको सामना गरिरहेको थियो।

सञ्चालकले गत महिना बताएअनुसार सन् २०१३ देखि नै रेस्टुराँले मुनाफा आर्जन गर्न सकिरहेको थिएन र ठूलो मात्रामा घाटा बेहोर्नुपरेको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस्