नक्कली पानीको जार बेच्ने २ जना पक्राउ

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : ०२


नेपाल प्रहरीले विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुईजनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त कालीमाटीको टोलीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी बिक्री गर्ने सर्लाही लालबन्दीका २५ वर्षीय आशिष कार्की र चितवन रत्ननगरका २६ वर्षीय किरण श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरिएको कम गुणस्तर भएको पानीको जार खुलारूपमा बिक्री गर्ने कार्की र श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकासँग प्रहरीले पानी बोक्न प्रयोग गरेको बा११च ६०४५ र बा ६ च २८०४ नंको डिआई गाडी र १९७ थान पानीको जार बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रवक्ता मैनालीले बताए। रासस


प्रतिक्रिया दिनुहोस्