‘देश हाँक्ने प्रधानमन्त्री आईजी र डीआईजी सरुवा बढुवामा लाग्ने होइन’

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ४५


काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले प्रहरीलाई प्रविधियुक्त र स्रोतसाधन सम्पन गराउनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन तथा सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरुले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न दिन सरकारसँग माग गरेका छन्।

उक्त प्रस्तावमाथि विचार गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले सदनमा प्रस्तुत गरेका थिए। छलफलमा भाग लिँदै उनीहरुले प्रहरीमाथि हुने हस्तक्षेप बन्द गर्न पनि आग्रह गरेका छन्।

प्रस्तावको सैद्धान्तिक विषयमा छलफल गर्दै सांसद नवराज सिलवालले महानगरीय प्रहरी प्रणालीको अवधारणा आवश्यक भएको र त्यसले मात्रै उत्कृष्ट काम गर्नसक्ने बताए। प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउन उनले अनुरोध गरे। प्रहरीमा राजनीतिकरण गरेर मनपर्दीरुपमा सरुवा बढुवा गरिएकाले प्रहरीको मनोबल गिर्दो रहेको पनि उनले बताए।

छलफलमा भाग लिँदै सांसद कृष्णभक्त पोखरेलले अध्यागमन विभागले अनुसन्धान गर्ने विषयमा नेपाल प्रहरीले पनि अनुसन्धान गर्दा दोहोरो पर्छ भनेर त्यसलाई हटाउने गरी ल्याइएको भन्दै यसतर्फ गम्भीर छलफलको आवश्यकता औँल्याए। उनले यसरी हटाउँदा दीर्घकालीन असर पर्न सक्ने भन्दै त्यस विषयलाई दीर्घकालीनरुपमा सोच्न अनुरोध गरे। प्रदेशमा उनले प्रहरी अतिरिक्त महानिरीक्षक राख्न सुझाव पनि दिए।

सांसद नवराज सिलवालले सरकार र राजनीतिक दलबाट प्रहरीमाथि अत्याचार भएको बताए।

‘प्रहरीमाथि सरकार र राजनीतिक दलबाट धेरै नै अत्याचार भएको छ। प्रहरीलाई सही ढंगले काम गर्न नै दिइएको छैन,’ उनले भने, ‘यूएनको एउटा प्रतिवेदनले नेपालको प्रहरी एकदमै क्षमता भएको र अनुसन्धानमा अब्बल देखाएको छ। त्यसैले प्रहरीमा सिस्टमको विकास गर्न जरुरी छ। साधनस्रोत सम्पन्न बनाउनुपर्ने हुन्छ।’

सरकारले प्रहरीलाई राजनीतिकरण गरेको उनको आरोप छ। ‘मनपरी भर्ना गरेको छ। मनखुसी सरुवारबढुवा गरिएको छ। आ-आफ्नो मान्छे च्याप्नुभएको छ। यसले गर्दा नेपाल प्रहरीको मनोबल खस्किएको छ,’ उनले भने, ‘मुलुक हाँक्ने प्रधानमन्त्रीज्यू आईजी, डीआईजी र एसपी बढुवा बनाउनेमा लाग्ने होइन। गृहमन्त्रीले ‘ओभरल’ हेर्ने हो।’।

प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन सरकार गम्भीर: गृहमन्त्री

बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले तीनै तहको समन्वयमा नेपाली जनतालाई सुरक्षाको समुचित प्रबन्ध गर्ने सबैको साझा दायित्व रहेको बताए। मुलुकको सुरक्षा चुनौतीलाई सामना गर्न कसरी जाने, सुरक्षा संयन्त्रलाई चुस्त पार्ने विषयमा महत्वपूर्ण विचार सांसदहरुबाट आएको उल्लेख गर्दै उनले नेपाल प्रहरी सीमित स्रोतसाधनबाट जनताको जीउधनको सुरक्षामा अहोरात्र खटिएको स्मरण गरे।

सुरक्षाका नयाँनयाँ चुनौती बढिरहेका सन्दर्भमा अझै प्रविधियुक्त र साधन स्रोत बनाउने कुरामा सरकारको ध्यान गएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्