काठमाडौं। रुस र युक्रेनबीच द्वन्द्व चर्किएको चार महिनामा प्रवेश गरेको छ। रुसले युक्रेन भित्रै घुसेर आक्रमण थालेपछि महिनौंयता युद्ध चलिरहेको हो।
यो युद्धबाट युक्रेनलाई अरबौं अमेरिकी डलर घाटा भइसकेको छ। रुसी आक्रमणबाट युक्रेनका अनगिन्ती पूर्वाधार नष्ट भएका छन्।
केही समय अगाडिमात्र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्म २० प्रतिशत आप्mनो भूभाग कब्जा गरेको जानकारी दिएका थिए।
रुसले आक्रमण गर्दा २० लाखभन्दा बढी युक्रेनी नागरिक विस्थापित भएका छन्। उनीहरु अन्य देशमा शरणार्थीको जीवन विताइरहेका छन्।
यो युद्धमा दुवै देशका हजारौं सेनाले ज्यानसमेत गुमाइसकेका छन्। सो क्रममा दुवै देशको तर्फबाट भाडाका लडाकुहरुले पनि युद्ध गरेका छन्। राम्रो कमाई हुने सोचका साथ विभिन्न देशका लडाकुहरु युक्रेन र रुसको भाडाका लडाकु बनिरहेका हुन्।
यस क्रममा रुसी सेनाविरुद्ध लड्ने दुई अमेरिकी नागरिकलाई युक्रेनको खार्किभ क्षेत्रमा पक्राउ गरिएको छ।
खार्किभबाट पक्राउ गरेपछि उनीहरुलाई रुसबाट समर्थन प्राप्त डोनेट्स्क लगिएको छ। पक्राउ परेका उनीहरुलाई कस्तो सजाय दिनेबारे छलफल चलिहरहेको बताइएको छ।
यसअघि डोनेट्स्क क्षेत्रको अदालतले युक्रेनका लागि बेलायती भाडाका लडाकु एइडेन स्लिन र साउन पिनरलाई मृत्युदण्ड दिने फैसला गरेको थियो।
उनीहरुलाई आतंकवादी कार्यमा लागेको र शक्ति हत्याउने प्रयास गरेको आरोप लागेको थियो। डोनेट्स्क युक्रेनकै भूमि भएता पनि रुसले सो क्षेत्रका लडाकुलाई समर्थन गर्दै आएको छ।
यसबीचमा अमेरिकी नागरिक ३९ वर्षीय जोन–रोवर्ट ड्रुकी र २७ वर्षीय एन्डी ताई गोक ह्युन पनि रुसी सेनाको कब्जामा गएको सीएनएनले जनाएको छ।
उनीहरुलाई गत जुन ९ मा खार्किभको लडाइँपछि पक्राउ गरिएको बताइएको छ। यतिबेला उनीहरुलाई कडा सजाय हुनसक्ने आशंकाबीच अमेरिकी परिवार चिन्तित बनेका छन्।