रवि लामिछानेलाई न्यौपानेको ‘मार्मिक’ खुला पत्र !

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : १६


आदरणीय रवि लामिछाने ज्यू,

नमस्कार,अभिवादन, अब जय नेपाल भनौँ या लाल सलाम ! या अरु अरु के भनेर सम्बोधन गरुँ ?  अन्यौलमा छु । त्यो त असार सात गतेपछि नै थाहा पाउने छु । पक्कै पनि आराम हुनुहुन्छ होला । म पनि आराम रही आरामको कामना गर्दछु । तपाईको बारेमा खासै लेख्नु त जरुरी केही थिएन तर गत साता तपाईले टेलिभिजन पत्रकारिता छोडी राजनीतिमा होमिने उद्घोष गर्नुभयो । यो उद्घोषपछि अहिले सामाजिक संजालदेखि केन्द्रका मिडियाको कभरेज तपाइँ बन्नु भएको छ । यही सन्दर्भमा तपाईप्रतिका मेरा केही गन्थनमन्थन र उकुसमुकुस यो पत्रमार्फत् तपाइँलाई सम्प्रेषण गर्दै छु । कहिँ कतै गल्ती भएको खण्डमा सुरुमै क्षमा माग्दछु ।

केही बर्षअघिसम्म म तपाइँलाई चिन्दैन्थेँ । जब तपाईले न्यूज २४ मा लगातार ७२ घण्टा कार्यक्रम चलाएर टेलिभिजन कार्यक्रमको इतिहासमा विश्व रेकर्ड कायम गरी गिनिज बुकमा नाम लेखाउनु भयो, त्यसबेलाबाट तपाईँलाई हल्का चिन्न थालेको हुँ । जुन दिन तपाईले भोक प्यास, निद्रा नभनी ७२ घण्टा अर्थात् ३ दिनसम्म अनवरत खटाइका साथ ऐतिहासिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुभयो त्यसदिनबाटै तपाइँप्रति म बढी पुलकित थिएँ । सोही कार्यक्रमबाटै तपाईबाट म वास्तविक रुपमा प्रभावित भएको थिएँ । अनि मैले तपाईलाई निरन्तर फलो गर्न थालेँ।

। आजकल त म तपाईका हरेक गतिविधिमाथि जानकार छु । त्यसैले पत्रकारिताबाट यहाँले बनाउनु भएको छविको सर्वप्रथम म मुक्तकंठले प्रसंसा गर्दछु । सायद २०७६ सालमा हुनुपर्दछ पप गायक धिरज राईको नेतृत्वमा बुद्ध वाज बर्न इन नेपाल अभियान चलेको थियो । त्यही अभियानको क्रममा काठमाण्डौको टुँडिखेलमा एक विराट कार्यक्रम पनि आयोजना भयो ।

र १ लाख हस्ताक्षर पनि गरिएको थियो । त्यो कार्यक्रममा हामी हजारौ समर्थक त्यहाँ थियौ भने तपाई पनि त्यो कार्यक्रममा आएर अभियान्ताको रुपमा आफ्नो भनाई राख्नु भएको थियो । तपाईले टेलिभिजन पत्रकारिताबाट के कमाउनु भएको रहेछ भन्ने कुरा त्यहाँ उपस्थित हजारौले तपाईको नाम लिनासाथ गरेको हुटिङ र गडगडाहक तालीबाट थाहा पाएँ । अनि मलार्य पनि पत्रकारितामा रहिरहन मन लागेको थियो । अहिले पनि म पत्रकारितामै छु । त्यति खेर तपाई न्युज २४ टेलिभिजनमा सिधा कुरा जनतासंग कार्यक्रमको प्रस्तोता हुनुहुन्थ्यो ।

अदम्य साहस र चौडा छाती बनाई वडो स्वाभिमान र निर्भिकताकासाथ तपाईले न्युज २४ टेलिभिजनमा अनवरत रुपमा सिधा कुरा जनतासंग कार्यक्रम चलाउनु भयो । तपाईँको एक्लो कार्यक्रमले नै हिजो न्यूज २४ को उचाई पनि शिखरमा पुगेको थियो सायद ।

आज तपाईले जे कमाउनु भएको छ मलाई लाग्छ त्यही कार्यक्रमको देन हो । त्यो कार्यक्रममा तपाईले जे जस्ता सामग्री प्रसारण गर्नुभयो जनहितमा रहेर, तिनैबाट आज ३ करोड नेपालीमाझ परिचित पात्र बन्नु भएको छ तपाईँ । वास्तविक रवि यसरी बन्नुभएको हो । त्यही कार्यक्रमको सफलताको कारण नै तपाईले आफ्नै टेलिभिजन ग्यालेक्सी फोर के पनि संचालन गर्न सफल हुनुभयो । अर्थात् एउटा कार्यक्रम प्रस्तोता संचार मालिक बन्नुभयो ।

चाहे न्यूज २४ मा रहँदा होओस्, चाहे ग्यालेक्सीको छोटो यात्राको क्रममा होओस् तपाईले प्रसारण गरेको सिधा कुरा जनतासंग र सिधा कुरा कार्यक्रमले ३ करोड नेपालीको मन जित्न सफल भएको थियो । तपाइँले त्यसरी नेपालीको मन जित्नुभयो ।

मुलुकमा बढेको हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, वेथिति, अन्याय, अत्याचार, शोषण, दमनका विरुद्ध तपाईले राज्यले गर्न नसकेको काम गर्नुभयो । तपाईको कार्यक्रमले गर्दा विदेशमा अलपत्र परेका हजारौँको उद्धार भयो । त्यतिबेला भ्रष्टचारी र घुसखोरीको मुटु थर्कन्थ्यो ।

राज्यको सार्वजनिक पद धारण गरेर मुलुकलाइ कंगाल बनाउने र लुट्नेहरु पनि तपाइको नाम लिनासाथ थुरथुर काँप्थे । विदेश पठाइदिने नाममा नेपालीसंग करोडौँ रकम असुल्ने दलालहरुको पनि तपाईको नाम लिनासाथ सातो जान्थ्यो । देशभरका नदीनालाहरुको दोहन गर्ने, पुल पुलेसा अनि बाटाघाटामा कमिसन खाने ठेकेदारहरु, चेलिबेटी बेचविखन गरेर पैसाको धन्दा चलाउने दुराचारीहरु, मालपोत अड्डादेखि अख्तियारसम्म सेटिङमा चलेर पैसा कुम्ल्याउने चोरको गिरोह, जनताको करमा ब्रहम्मलुट गर्ने पेशामा लागेका अल्छी, फटाहा र भ्रष्टचारी कर्मचारीहरु पनि तपार्इँ भन्नासाथ लग्लग् काँप्थे ।

तर आज तिनीहरु सबैले सुरा, सुन्दरी र संगितसहितको दिवारात्री भोज गरिरहेका छन् । किन कि रवि लामिछानेले अब सिधा कुरा छोड्यो । तपाईले टेलिभिजन कार्यक्रम छोडेपछि चोरदेखि बलात्कारीसम्म खुसीले गद्गद् छन् । नाचगानमा बुर्कुसी मारिरहेका होलान् ।

हुन त त्यो कार्यक्रम बन्द भएको छैन तर मलाई विश्वास छैन तपार्इँजति निडर भएर त्यो कार्यक्रम सायदै अरु कसैले चलाउला । आफ्नो ज्यानलाई खुकुरीको धारमा राखेर परिवार समेत बिर्सि तपाईले जसरी कार्यक्रम प्रसारण गर्नुभएको थियो अरु संचालकमा त्यो दम हुने छैन । यो दम पाल्न अब म युवराज कँडेललाई आग्रह गर्दछु ।

अनेक आरोप पत्यारोप र आफूमाथिका षडयन्त्र चिर्दै प्रसारण गरेको कार्यक्रम तपाईले यसरी चटक्कै छोड्नु हुन्छ भन्ने मलाई पटक्कै लागेको थिए । अब ती सबै भूत भइसके । यसपछि मेरो मनभरी तपाईप्रति प्रश्नैप्रश्नै छन् रवी लामिछाने ज्यू ।

तपाई कुन दलमा जादै हुनहुन्छ या स्वतन्त्र दल खडा गर्नुहुन्छ या एक्लै स्वतन्त्र आगामी मंसिरमा हुने प्रतिनिधि सभाको चुनावमा उठ्नु हुन्छ त्यो पछि नै थाहा पाउने छु । तर यति भन्दछु कि तपाईले टेलिििभजन कार्यक्रमबाट पाउनुभएको छवि र नाम अब राजनिितबाट किमार्थ पाउनु हुने छैन । भलै तपाई कुनै पार्टीको अध्यक्ष बन्नुहोस् या चुनाव जितेर सांसद र मन्त्री बन्नुहोस् या प्रधानमन्त्री नै बन्नुहोस् । यसपछाडीका थुप्रै कारण छन् ।

तपाईमाथि यो भनिरहँदा आज मलाई रविन्द्र मिश्रको झलझली याद आउँछ र आज उहाँलाई विचरा भन्नु शिवाय मसंग अरु कुनै शब्द छैनन् । उहाँलाई पनि लाग्दथ्यो मजस्तो बीबीसिीमा सवालजवाफ गर्ने मान्छेलाई राजनीतिमा सबैले सजिलै पत्याउँछन । तर राजनैतिक दृश्य बाहिर देखेजस्तो छैन् नै छैन । उहाँले राजनीतिबाट हात नै धोएर आज ग्लानीको आसुमा डुविरहनु परेको छ रातदिन ।

यदि तपाई पनि त्यही मनोविज्ञान र मनोदशाको समुद्रमा पौडिएर राजनैतिक यात्रा आरम्भ गर्न लाग्नु भएको हो भने समय घर्किएको छैन तपाईले आजै फेरि टेलिभिजन कार्यक्रममा फर्कने घोषणा गर्नुहोस् । सबैले स्वागत गर्नेछन् । ताली बजाउने छन् होइन भने तपाई पाइला फुकिफुकि हिँड्नु पर्ने यात्रा गर्दै हुनुहुन्छ । थोरै पनि चेत गुमाउदा तपाइँर्को सारा सर्वस्व गुम्नेवाला छ ।

रवि लामिछाने ज्यू, एउटा भनाई नै छ नेपालमा कसैलाई बदनाम गराउनु छ भने मन्त्री या ठुलै राजनैतिक पद दिनू । यसको सिकारमा धेरै राम्रा मान्छे परेका छन् । हिँजो चर्चामा रहेका र आशा गरेका उनीहरुलाई त्यो बदनामीले गर्दा कहिँ खोजेर भेटाउन सकिन्न । मैले भन्न खोजेको तपाई मन्त्री र सांसद नै बने पनि यहाँको ब्युरोक्रेसी अर्थात् कर्मचारी तन्त्र नै नै तपाईको बाधक बन्ने छ । त्यो तन्त्र यसरी जकडिएको छ कि चाहेर पनि काम गर्न सकिन्न । त्यसको समुल नष्ट गर्न सकिन्न । त्यसलाई यति बलियो यिनै नेताले बनाएका छन् ।

यहाँ नेता, मन्त्री र प्रधानमन्त्रीको त्यस्तै सेटिङले उहिल्यैदेखि जरा गाडेको छ, जसको समुल नष्ट गर्न नेपालमा एउटा जंग बहादुर राणाको खाचो छ । लामिछाने ज्यू यो छोटो समयमा त तपाईँ जंग बहादुर राणा बन्न सक्नु हुन्न नै । तपाईले सोचेको मुलुकको अग्रगामी सपनाका खाका यस ब्यवस्थामा रत्ति पनि लागु गर्न सक्नु हुने छैन ।

म आजसम्म भन्ने ठाउँमा मात्र रहे । म टेलिभिजनमा कराएर मात्र केही हुने रहेनछ भन्ने निष्कर्ष निकाल्दै काम गर्ने र नीति बनाउने ठाउँमा जान्छु नै जान्छु भन्ने अदम्य साहस बोकेर तपाईले सिधा कुरा छोड्नु भएको छ, मैले त तपाइँले भनेजस्तो त्यति सहज देख्दिनँ । सामाजिक संजालमा तपाईँलाइ चाडै मुलुकको कार्यकारी प्रमुख भएको हेर्न देश विदेशका लाखौ आमाबुबा लालयित हुनुहुन्छ, म पनि छु तर के गर्नु यहाँको व्यवस्था नै यस्तै छ कि रवि लामिछाने ज्यू सकिन्न सकिन्न सकिन्न ।

दलीय व्यवस्थामा दल विना स्वतन्त्र ब्यक्ति एक्लै भिँडेर पनि मुलुकको कायापलट हुन्छ भन्ने मान्यताबाट म टाढा छु । र, एक सचेत नागरिकले यस प्रकारको सोच पनि राख्दैन । मुलुक बनाउन राजनीति नै चाहिन्छ । किन कि राजनीति त नीतिहरुको राजा हो ।

वर्तमान नेपालको राजनीतिमा हेर्यौ भने कोको छन् भन्दा यिनै सडेगलेका देउवा, ओली, प्रचण्ड, नेपाल, भट्टराई र यादवहरु । राजेन्द्र लिंदेनबाहेक अरुमा न सोच छ न भिजन नै । यी बषौँसम्म प्रयोगशालामा राखेर नतिजा दिन नसक्ने औजर नै भए । अब दोश्रो, तेश्रो पुस्ताका केही आशााग्दा नेताबाहेक यी नेताबाट केही आशा गर्न सकिन्न मुलुक परिवर्तनको । र अब एउटा आशा छ राजेन्द्र लिंदेनमा । तर उनको पार्टीले पनि यत्रो परिवर्तनलाई स्विकार नगरेर फालेको ब्यवस्था खोज्छ । जे भए पनि यही गणतन्त्रलाई सुधार गरेर अगाडी जाने हो । फेरि पनि मुलुकमा राजतन्त्र ल्याउनु पर्छ भन्नु अधोगतिको कारण हुन सक्छ । त्यो स्वरले गणतन्त्रका १६ बर्षसम्मका उपलब्धि स्वाहा भएर माटोमा विलिन् हुने छन् भने अर्को निरंकुशताको विजारोपण नहोला भन्न सकिन्न ।

रवि लामिछाने ज्यू अब तपाई सायद यी मध्ये कुनै पार्टीमा लाग्नु हुन्छ होला पक्का । यो कुरा तपाईको अभिव्यक्तिबाट सजिलै बुझ्न सकिन्छ ।
तपाईले एउटा कुरा कत्तिको हेक्का राख्नु भएको छ कुन्नि ? नराख्नु भएको भए म सुझाउँछु । तपाइलाई राजनीतिमा छिराएर सांसद र मन्त्रीको ललिपप देखाउनेहरु नै तपाइलाई बदनाम र असफल बनाउने दिशामा लाग्ने छन् । तपाईमाथि यतिसम्म षडयन्त्र हुने छ कि आफ्नो अस्तित्व समाप्तिको भयले तपाइको ज्यान लिन पनि षडयन्त्र रच्ने र चरित्र हत्या गर्ने प्रयासमा हुन् छन् ।

तपाइलाई भ्रष्टाचारी या यौन दुराचारीको आरोप लगाएर कहिल्यै उठ्न नसक्ने गरी फसाउन पनि सक्छन् । त्यसैले पाइला फुकीफुकी यहाले आफ्नो राजनैतित्र रथलाई अगाडी बढाउनुहोला । रवि लामिछाने ज्यू तपाइ टेलिभिजनबाट विदा भइरहँदा कैयौ विधवाहरु, बलात्कारको शिकार बनेका छोरी चेलीहरु, विदेशमा अलपत्र परेका नेपालीहरु, सिफारिसमा पनि घुस दिन बाध्य जनताहरु, पाइलापाइलामा ठगिएका आमाबुबा दाजुभाई दिदीबहिनीहरु रोइरहेका छन् ।

राज्यबाट नागरिकता लिएर पनि अनागरिक भएकाहरुले अदालतबाट होइन तपाईबाट न्यायको आश गर्दथे । आज ती सबै भक्कानिएका छन् । रोएका छन् । कराएका छन् । राज्य नपुगेपछि रवि लामिछाने त पक्कै आउछ मेरो आँगनमा, मेरो कुरा सुन्छ । सुनाउँछ भन्नेहरुको आशा निरासामा परिणत भएको छ । अब उनीहरुको कुरा कसले सुन्छ ?

मुलुकमा पत्रकार त धेरै छन् तर नगन्यबाहेक सबै पीत पत्रकारितामा रमाउँछन् । उनीहरुले भ्रष्टचारी नेताको कभर न्यूज बनाउँछन् । उनैको जयजयकार गर्छन् । भजनकिर्तन गर्छन् । तर, े भुईमान्छेको कथा ब्यथा सदैव छाँयामा नै पर्ने गरेको छ । रक्सी, मासु र सुन्दरीसंग कलमको पावर साट्नेहरु तपाइले देखाउनुभएको बाटोमा हिड्लान् भन्ने लाग्दै लाग्दैन ।

अन्त्यमा सकिन्छ र सम्भव छ भने स्वतन्त्र मेयर जितेका काठमाण्डौका मेयर बालेन शाह, हेटौडा र धनगढीका मेयर हर्क साम्पाङ र गोपाल हमाल । त्यसैगरी रविन्द्र मिश्र, राजेश हमाल, प्रेम बानियाँ, रमेश खरेलजस्ता मुलुकका ज्यूँदा सपुतहरुलाई साथमा लिएर एउटा नयाँ पार्टी निर्माण गर्नुहोस् सक्नुहुन्न भने यी पतित पार्टीभित्र नछिर्नुहोला । बरु हर्क र बालेनजस्तै स्वतन्त्र लडेर चुनाव जित्नुहोला । हामी सबै सचेत नागरिकहरु हजुरको अभियानमा सती सालझैँ ठिङ्ग उभिने छौँ ।

फेरि भन्छु यी पुराना र खिया लागेका कुनै पनि दलको दलदलमा नफस्नुहोला । फसे पनि पाइला फुकिफुकि हिँड्नुहोला । असार ७ गते ३ करोड नेपालीले हेर्न चाहेको पनि यही हो । लामिछाने ज्यू, तपाइलाई राजनैतिक सफलताको भव्य शुभकामना दिदै निकट भविष्यमा प्रधानमन्त्रीसम्म भएर मुलुकलाई कायापलट गरेको हेर्न पाऔँ । यही रहरको हुटहुटीको साथमा मेरा खाम यही बन्द गर्दछु । उही तपाइँको भलो चिताउने मान्छे चन्द्रकान्त न्यौपाने, काठमाण्डौँ ।


प्रतिक्रिया दिनुहोस्