सेना भर्ती सम्बन्धी ‘अग्निपथ योजना’को विरोधमा भारत बन्द, ४९१ रेल सेवा प्रभावित

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ११ : ४९


काठमाडौं। सेना भर्ती सम्बन्धी ‘अग्निपथ योजना’को विरोधमा भारत बन्दको घोषणा गरिएको छ।

भारतका कयौं संस्था र संगठनहरुले भारत बन्दको आह्वान गरेको बीबीसीहिन्दीले जनाएको छ। यही विवादस्पद योजनाका कारण भारतमा हिजोमात्र १२ वटा रेलमा आगजनी गरिएको थियो।

यतिबेला रेलमा पुनः आगजनी हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। समाचार संस्था एएनआईका अनुसार विरोध प्रदर्शनका कारण देशभर ४९१ रेलसेवा प्रभावित भएका छन्।

भारतका विभिन्न स्थानमा हाल युवा तथा विपक्षी पार्टी काँग्रेसले आन्दोलन गरिरहेका छन्।

यसअघि यस सैन्य योजनाको आम आद्मी पार्टी, काँग्रेस लगायतका पार्टीले विरोध जनाएका थिए। उनीहरुले केन्द्रिय सरकारको ‘अग्निपथ योजना’को विरोध गर्दै सो योजना तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन्।

पछिल्ला दुई वर्षयता भारतीय सेनामा भर्तीकार्य रोकिएको थियो। यतिबेला भने केन्द्र सरकारले ‘अग्निपथ योजना’ अगाडि सारेको छ जहाँ छोटो समयको लागि सेनामा भर्ती हुन पाइन्छ।

योजनाअनुसार चार वर्ष सेनामा काम गर्न पाइन्छ, पेन्सन भने पाइने छैन। यो सेनाको अपमान भएको र यो देशका युवाको लागि पनि धोका भएको आरोप लगाइएको छ।

गतहप्ताको मंगलबार भारतका रक्षामन्त्री राजनाथ सिंहले तीन सेनाध्यक्षको उपस्थितीमा अग्निपथ योजना अगाडि सारेका थिए।

सेना भर्तीको यस योजनाअनुसार साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवाले सेनामा भर्ती हुन आवेदन दिनसक्छन्। तर यस सैन्य अवधि चार वर्षको मात्र हुन्छ।

यस योजना अन्तर्गत छनौट भएका २५ प्रतिशतलाई मात्र पूर्णकालिन सैन्य सेवामा समावेश गराइन्छ।

यसरी सैन्य अवधि कम भएपछि र २५ प्रतिशतलाई मात्र सैन्य सेवामा बस्न दिने भनेपछि भारतभर यो योजनाको विरोध भइरहेको हो।

बिहार, यूपी लगायत कयौं राज्यमा युवाहरुले आगजनी तथा तोडफोड गरिरहेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्