जाने भयो प्रेम आलेको मन्त्री पद, यस्तो भने माधव नेपालले

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ४ : ४२


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफ्ना मन्त्रीहरूलाई चाँडै सरकारबाट फिर्ता बोलाउने बताएका छन्।

नेपालले ६ महिनाको समय दिएर आफ्नो पार्टीले मन्त्री पठाएको भन्दै जसरी पनि अहिलेका मन्त्रीलाई फिर्ता बोलाइने बताए।

काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष नेपालले नयाँ मन्त्रीको नाम पठाइसकेका कारण अब चाँडै मन्त्रिमण्डलमा फेरबदल हुने बताए।

उनले भने ‘हामीले नयाँ मन्त्रीको नाम पठाइसकेका छौँ। प्रधानमन्त्री र माओवादीका साथीहरू पनि आफ्नो पार्टीमा समस्या आएको कारण केही समय रोकिएको हो।’

अहिले एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन्।

यसअघि पनि यी मन्त्रीलाई पार्टीले फिर्ता बोलाएको थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृति नदिँदा नयाँ मन्त्रीहरूको नियुक्ति रोकिएको छ। पछिल्लो समय मन्त्री आले कर्मचारीविरुद्ध गाली गलौजमा उत्रिएका छन्। यसै कारण पनि आलेको बर्खास्तीको दबाब नेपालले झेलिरहनु परेको छ।

पार्टीले नयाँ सिफारिस गरेका मन्त्रीहरूमा भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन्। त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीलाई सिफारिस गरिएको छ।


प्रतिक्रिया दिनुहोस्