प्रधानमन्त्री देउवालाई संसदीय समितिले सोध्यो बैठकमा नआउनुको कारण

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ५८


काठमाण्डौ । औपचारिक रुपमा  बोलाउँदा पनि बैठकमा नआएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई किन नआएको भन्दै संसदीय समितिले कारण सोध्ने निर्णय गरेको छ।

अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) र प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे विभिन्न जिज्ञासा उत्पन्न भइरहेका बेला देउवाबाट जवाफ माग्ने तयारी थियो।

तर, प्रधानमन्त्री देउवाले बैठक छल्न खोजेपछि प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको हो।

आजको बैठकमा प्रधानमन्त्री देउवाको अनुपस्थितिलाई लिएर विवादसमेत भएको छ। प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तापक्षकै माओवादी सांसदले प्रधानमन्त्री देउवाको आलोचना गरेपछि कांग्रेसका सांसद भने बचाउमा उत्रिए।

नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति खेदजनक भएको बताए।

एसपीपीबारे प्रधानमन्त्री देउवाको जवाफ माग गरिएको तर, जवाफ दिन प्रधानमन्त्री अनुपस्थित हुनुले आशङ्का उब्जाएको उनको टिप्पणी छ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री देउवाको बचाउ गरेकी छन। उनले देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान भन्न नमिल्ने बताइन्।


प्रतिक्रिया दिनुहोस्