डिपेन्डेन्ट भिसाको नाममा ठगी गर्ने रूपेश काठमाण्डौँबाट पक्राउ

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : ३०


काठमाडौँ । डिपेन्डेन्ट भिसाको नाममा ठगीधन्दा गर्ने एक युवक काठमाण्डौँबाट पक्राउ परेका छन् । अस्ट्रेलिया र क्यानडा पठाइदिन्छु भनी २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका– १ घर भई हाल जिल्ला काठमाडौँ हाँडी गाउँ बस्ने वर्ष ३२ को रूपेश कार्कीलाई पक्राउ गरेको हो ।  आफूहरू ठगिएको थाहा पाएपछि दुई महिला उजुरी गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ गए । तत्कालै दुईवटै जाहेरीलाई दर्ता गरी अनुसन्धान अघि बढाएपछि प्रहरीले कार्कीलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

कार्कीविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद– २१ को देहाय २४९ को कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ४ को म्याद लिई जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको छ ।

कार्कीले कास्कीको पोखरा महानगरपालिका— १६ बिरौटा बस्ने वर्ष २२ की एक जना महिलालाई क्यानडामा पठाई दिन्छु भन्दै प्रलोभनमा पारे । र, ११ लाख ७१ हजार रुपैयाँ लिए । तर, क्यानडा पठाएनन् ।

यसैगरी उनले काठमाडौँ पेप्सीकोला बस्ने वर्ष २८ की अर्की महिलालाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजाने उनले प्रलोभन देखाए त्यसबापत उनले ती महिलाबाट ९ लाख ७५ हजार रुपैयाँ लिए तर त्यहाँ पनि उनी असफल भए । यति मात्र होइन आफूूले बालुवाटारमा अनाथ आश्रम असहाय संस्था सञ्चालन गरेको तथा सो संस्थाले पोर्चुगलमा सेमिनार गर्न लागेको र त्यहाँ जान इच्छुक भए पठाइदिन्छु भन्दै उनले पीडितलाई प्रलोभनमा पारेर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

विदेशमा राम्रो रोजगारीको सपना देखाएर ठगी गर्नेहरू सक्रिय भएका प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै ठगी अपराध हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । यस्तै घटनामा अन्य व्यक्तिलाई समेत ठगी गरेको हुन सक्ने भएकोले सचेत रहन र उजुरी गर्न प्रहरीले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्