दुर्गा प्रसाईँलाई भेटेका राजकुमार र उपहार पाएको ‘सुनको लौरो’ दुबै नक्कली !

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : ००


झापा । नेपाल भ्रमणमा आएका दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम दुबईका असली राजकुमार नभएको खुलासा भएको छ। यस्तै उनले बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँलाई उपहार दिएको ‘सुनको लौरो’ पनि नक्कली भएको बताईएको छ ।

दुबईका राजकुमार नेपाल भ्रमणको क्रममा झापा आएको समाचार आएपछि सुरक्षा संयन्त्रभित्रै खैलाबैला मच्चिएको थियो।

दुबईका राजकुमार आउँदा नेपाल सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने हुन्छ। उच्च सुरक्षा दिनुपर्ने हुन्छ। तर उनी नेपाल भ्रमण आएको बारेमा परराष्ट्र मन्त्रालयसहित देशका उच्च सुरक्षा निकायहरूलाई नै थाहा थिएन।

झापा पुगेका राजकुमार शेख मोहम्मद मक्तुमको स्वागतका लागि पनि विमानस्थलमा तैनाथ सुरक्षाकर्मीबाहेक जिल्लाका सुरक्षा निकायका प्रमुखहरू समेत विमानस्थलमा देखिएनन्।

दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम हुन्। नेपाल आए भनिएका राजकुमारको नाम चाहिँ शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम हो । वास्तवमा नेपाल आएका राजकुमार दुबईका शाही परिवारका टाढाका नातेदार हुन् तर त्यहाँको शक्तिशाली राजकुमार भने होइनन्।

राजकुमार भनिएका मक्तुमले प्रसाईँलाई चन्द्रगढी विमानस्थलमा सुनको जस्तै देखिने लौरो उपहार दिएका थिए । उक्त पहेलो धातुको लौरो सुनको भएको अनुमान गरिएको थियो तर लौरो मूर्तिमा लगाइने पहेँलो सुनजस्तै देखिने धातुले बनेको पाइएको हो ।

तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भने उक्त लौरोको बारेमा अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्