काठमाडौं। चीनका तीन अन्तरिक्षयात्रीले देशको नयाँ स्पेस स्टेसन ‘अन्तरिक्ष केन्द्र’ निर्माण प्रक्रियाको लागि ६ महिने अभियान सुरु गरिसकेका छन्।
आगामी कयौं दशकसम्म अन्तरिक्षमा महाशक्ति बन्ने सोच राखेको चीनका लागि यो महत्वपूर्ण कदम हो।
तियानगोङ स्पेस स्टेसन के हो?
गतवर्ष चीनले आफ्नो तियानगोङ स्पेस स्टेसनको पहिलो मोड्युल अन्तरिक्षमा स्थापित गरेको थियो। चीनले आफ्नो स्पेस स्टेसनलाई ‘तियानगोङ’ राख्नुको अर्थ छ। चिनियाँ भाषामा तियानगोङको अर्थ हुन्छ ‘स्वर्गको महल’।
यसवर्षको अन्तिमसम्ममा चीनले आफ्नो अन्तरिक्ष केन्द्रमा विज्ञान ल्याबजस्ता अन्य मोड्युल जोड्ने योजना बनाएको छ। बीबीसीका अनुसार आगामी वर्ष चीनले अन्तरिक्षमा सुनतियान नाम गरेको टेलिस्कोप पनि प्रयोगमा ल्याउनेछ।
यो टेलिस्कोप स्पेस स्टेसन नजिकै रहनेछ। यसको मर्मत र इन्धन भर्ने कार्य सोही केन्द्रबाट हुनेछ। सो टेलिस्कोप स्पेस स्टेसनका लागि महत्वपूर्ण छ त्यसैले यो त्यही वरीपरी उड्नेछ।
तियानगोङ स्पेस स्टेसनको आफ्नै उर्जा स्रोत हुनेछ भने यहाँ चीन आफैंले लाइफ सपोर्ट सिस्टम बनाउनेछ। साथै यहाँ अन्तरिक्षयात्री तथा अनुसन्धानकर्तालाई बस्ने क्वार्टर पनि निर्माण गरिनेछ।
चीन इतिहासकै तेस्रो राष्ट्र हो जसले अन्तरिक्षमा स्पेस स्टेसन खडा गर्ने कदम चालिरहेको छ। सो कामको लागि चिनियाँ अन्तरिक्षयात्रीहरु अन्तरिक्षमै पुगिसकेका छन्। यसअघि तत्कालिन सोभियत संघ ‘हालको रुस’ र अमेरिकाले सो उपलब्धि हासिल गरेका थिए।
अन्तरिक्ष तथा ब्रम्हाण्डको अनुसन्धानमा स्पेस स्टेसन निकै महत्वपूर्ण हुन्छ त्यसकारण चीनको तियानगोङ स्पेस स्टेसनलाई लिएर धेरै आशा राखिएको छ। विश्वमा यतिबेला एउटै अन्तरिक्ष स्टेसन छ। जहाँ चीनलाई प्रतिबन्ध लगाइएको छ।
अमेरिकाले हाल संचालनमा रहेको एक मात्र स्पेस स्टेसन आईएसएसमा चीनलाई सन् २०११ मा प्रतिबन्ध लगाएको थियो। सुरक्षा खतरा भएको बताउँदै अमेरिकाले त्यसबेला चीनलाई आईएसएसमा प्रतिबन्ध लगाएको थियो।
अमेरिकाको दुईवटा आरोप थियो। पहिलो, चीनले एन्टी–सेटेलाइट हतियार प्रयोग गरेको छ र दोस्रो, चीनले अमेरिकी अन्तरिक्ष संस्था नासाको जेट प्रोपोल्सन ल्याबोरेटोरीमा ह्याकिङ गरेर बौद्धिक सम्पत्ति चोरी गरेको छ। यी आरोपहरुको चीनले खण्डन गर्दै आएको छ। तथापी सोही कारण हालसम्म चीनलाई सो अन्तरिक्ष स्टेसन प्रयोग गर्न दिइएको छैन। सो स्पेस स्टेसन अमेरिका, रुस, युरोप, जापान र क्यानडाले मिलेर बनाएका हुन्।
स्पेस स्टेसन अन्तरिक्षयात्रीको घर मानिन्छ। त्यहाँ अन्तरिक्षयात्रीहरु लामो समयसम्म अन्तरिक्षबारे अध्ययन गर्न बस्दछन्। सो स्पेस स्टेसनमा अमेरिकाले चीनलाई प्रतिबन्ध लगाएपछि यतिबेला चीनले आफू एक्लैले स्पेस स्टेसन बनाउन सुरुवात गरेको हो।
आईएसएस सन् २०३१ सम्म मात्र संचालनमा आउने भएकाले चीनको यस स्पेस स्टेसनलाई निकै महत्वका साथ हेरिएको हो। सन् २०३१ पछि चीनको मात्र स्पेस स्टेसन अन्तरिक्षमा हुँदा चीनको हालिमुहाली हुनेछ।
चीन अन्तरिक्षमा महाशक्ति हुनेछ। यद्यपी अमेरिका लगायत अन्य गठबन्धनले नयाँ अन्तरिक्ष स्टेसन भने बनाउनेछन्।
चीनले अन्तरिक्षको मामिलामा सबैभन्दा पछि कदम चालेको थियो। सन् २००३ मा बल्ल चीनको अन्तरिक्षयात्री अन्तरिक्षमा पुगेका थिए। चीनभन्दा धेरै अगाडि रुस र अमेरिकाले यो उपलब्धि हासिल गरिसकेका थिए।
तर चीन एक्लैले स्पेस स्टेसन बनाउन थाल्नाले चीन प्रविधिको क्षेत्रमा निकै अब्बल भएको विश्लेषण भइरहेको छ। त्यहाँ पहिलोपटक ३ अन्तरिक्षयात्री पुगेर काम थालिसकेका छन्।
नी हाइसेङ, लिउ बोमिङ र ताङ होङ्बो नाम गरेका तीन अन्तरिक्षयात्रीले त्यहाँ काम गरिरहेका छन्। उनीहरुले अन्तरिक्ष केन्द्रको निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान सुरुवात गरिसकेका छन्।
चन्द्रमा र मंगल ग्रहमा पुग्ने चीनको चाहना
चीनको महत्वाकाँक्षा यतिमै मात्र सिमित छैन। आगामी केही वर्षमै चीन पृथ्वी नजिकै रहेको क्षुद्रग्रहको नमूना संकल गर्न चाहन्छ।
चीन सन् २०३० मा आफ्नो पहिलो अन्तरिक्षयात्री चन्द्रमामा पठाउन चाहन्छ। चीन मंगल र बृहस्पति ग्रहमा अनुसन्धान अभियान संचालन गर्न चाहन्छ। त्यहाँको माटो र चट्टानको नमूना संकलन गर्न चाहन्छ।
चीलने सन् १९७० मा आफ्नो पहिलो भूउपग्रह अन्तरिक्षको कक्षमा पठाएको थियो। त्यसबेला चीनमा साँस्कृतिक क्रान्तिका कारण उथल–पुथल मच्चिएको थियो।
त्यसबेला चीनअघि अमेरिका, रुस, फ्रान्स र जापान मात्र अन्तरिक्षमा पुग्न सकेको थियो। पछिल्ला दश वर्षको अवधिमा चीनले दुई सयभन्दा बढीपटक रकेट अन्तरिक्षमा लन्च गरिसकेको छ।
चीनले चन्द्रमामा मानवरहित अभियान संचालन गरिसकेको छ। चांग–ई ५ अभियान अन्तर्गत चिनियाँ रोवोटिक यानले चन्द्रमाको टाढाको क्षेत्रबाट माटो तथा चट्टानको नमूना संकलन गरेको छ। त्यहाँबाट चिनियाँ यानले रंगीन तस्बिर पनि पठाएको थियो भने त्यहाँ चिनियाँ झण्डा फहराइएको थियो।
चीन स्याटेलाइट प्रविधि विकसित गर्न निकै उत्साहित छ। उसले टेलिकम्युनिकेसन, एअर ट्राफिक म्यानेजमेन्ट, मौसमको पूर्वानुमान र नेभिगेसनजस्ता कार्यमा भूउपग्रह प्रयोग गर्न चाहन्छ। बीबीसीहिन्दीको सहयोगमा