रुसी विदेशमन्त्री भन्छन्ः युक्रेनमा आक्रमण गरेका होइनौं, विशेष सैन्य कारवाही हो

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : ०८


काठमाडौं। करिब चार महिनाअघि रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेयता हजारौँ सर्वसाधारण मारिएका छन्।

युक्रेनी सहरहरू भग्नावशेषमा परिणत भएका छन् भने लाखौँ युक्रेनी आफ्नो घर छोडेर हिँड्न बाध्य भएका छन्।

तर बिहीवार रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले रुसले युक्रेनमा आक्रमण नगरेको बताए।

बीबीसीसँगको कुराकानीमा उनले भने,‘हामीले युक्रेनमा आक्रमण गरेका होइनौँ। हामीले विशेष सैन्य कारबाहीको घोषणा गर्‍यौँ। किनभने हामीसँग पश्चिमलाई युक्रेनलाई नेटोमा तान्नु एउटा आपराधिक कार्य हो भनेर बुझाउने कुनै अर्को तरिका थिएन।’

रुसले गत २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेदेखि लाभ्रोभले पश्चिमा मिडियालाई केही मात्र अन्तर्वार्ता दिएका छन्।

उनले क्रेम्लिनको आधिकारिक धारणा दोहोर्‍याउँदै युक्रेनमा नाजीहरू रहेको बताए। रुसी अधिकारीले प्रायः आफ्नो सेनाले उक्त देशमा ‘गैर–नाजीकरण’ गरिरहेको दाबी गर्छन्।


प्रतिक्रिया दिनुहोस्