सिक्किममा ‘कबड्डी ४’ को प्रदर्शनमा प्रतिबन्ध, फिल्म चले हल तोडफोड गर्ने चेतावनी

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : २४


काठमाडौं। ‘कबड्डी ४–द फाइनल म्याच’ चलचित्र नेपालकै सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनिसकेको छ। यसले २० करोड ग्रस कमाइसकेको छ।

यसबीचमा चलचित्रकी नायिका मिरुना मगरले एक लामाको भेषमा रहेका फुर्पा तामाङलाई झापड हानेको विषयले यो चलचित्रलाई केही प्रभाव पारेको देखिएको छ।

सिक्किङमा यो चलचित्र नचलाउन भन्दै लामा समूहले विरोध प्रदर्शन नै गरेका छन्। उनीहरुले यो चलचित्र सिक्किमको हलमा चलेको खण्डमा हल तोडफोड गर्ने चेतावनी दिएका छन्।

यसरी हल तोडफोड गर्ने धम्की आएपछि भारत सिक्किममा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका जनताको भावनालाई ध्यानमा राख्दै फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।

उनले फेसबुकमा भनेका छन्,‘सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म राज्यमा कबड्डी ४ को प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।’

यसैहप्ताको शुक्रबारदेखि यो फिल्म सिक्किममा प्रदर्शन गर्न तयारी गरिएको थियो।

फिल्ममा दयाहाङ राईले विवाह गर्ने कोही नपाएपछि भिक्षु बनेको देखाइएको छ। यसले बौद्ध धर्मको अपमान गरेको भन्दै काठमाडौंमा उजुरीसमेत परेको छ।

यसअघि काठमाडौंको सिभिल मलमा कबड्डी ४ हेर्न पुगेका बौद्ध भिक्षु फुर्पा तामाङले आफूलाई तीनपटकसम्म ब्याड टच गरेको भन्दै नायिका मिरुनाले उनलाई झापड हानेका थिए।

त्यसपछि उनीहरुबीच मिलापत्र पनि भएको थियो। तर सोझो लामालाई गर्दै नगरेको गल्ती स्वीकार गर्न लगाएको भन्दै यतिबेला नायिका मिरुनाको तिव्र आलोचना भइरहेको छ।

यही विवादका कारण सिक्किममा यो चलचित्र चल्न नदिने लामा संगठनहरुले चेतावनी दिइरहेका हुन्।


प्रतिक्रिया दिनुहोस्