रुसले युक्रेनको प्रमुख सहर सेभेरोडोनेट्स्क जाने हरेक पुल ध्वस्त बनायो

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १२ : ५४


किभ। लडाइँ भइरहेको युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त भएको स्थानीय गभर्नरले बताएका छन्।

गभर्नर सेर्हेई हाइडाईले सहरलाई पूर्ण रूपमा विच्छेद गरिएकाले त्यहाँ आपूर्ति व्यवस्था मिलाउन र नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अब असम्भव भएको बताए।

उक्त पूर्वी युक्रेनी सहरमा भीषण लडाइँ भइरहेको छ। त्यहाँ रुसले आफ्ना सेनाहरूलाई सैन्य केन्द्रहरूबाट बाहिर निकालेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

हप्तौँदेखि सेभेरोडोनेट्स्कमा कब्जा गर्नु रुसका लागि उच्च सैन्य लक्ष्य बनेको छ। सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्क कब्जामा लिँदा मस्कोलाई सम्पूर्ण लुहान्स्क क्षेत्रको नियन्त्रण सहज हुनेछ।

उक्त क्षेत्रका धेरैजसो भूभागहरू रुस समर्थित पृथकतावादीहरूद्वारा नियन्त्रित छन्। सेभेरोडोनेट्स्कका सबै तीनवटा पुलहरू ध्वस्त भएको विवरण हाइडाईले टेलीग्राममा पोस्ट गरेका छन्।

सहरमा रहेका बासिन्दाहरूलाई अत्यन्तै कठिन परिस्थितिमा बाँच्न बाध्य पारिएको उनले लेखेका छन्। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त सहरमा युद्धको मानवीय मूल्य डरलाग्दो भएको बताएका छन्।

युक्रेनी सेनाले हर तरहबाट रुसी सेनासँग लडिरहेको उनले बताएका छन्। विवरणहरूमा जनाइए अनुसार उक्त सहरको लगभग ७० प्रतिशत हिस्सा अब रुसी नियन्त्रणमा पुगेको छ।

रुस समर्थित स्वघोषित डोनेट्स्क पिपुल्स रिपब्लिकका सैन्य प्रतिनिधिले उक्त सहरमा बाँकी रहेका युक्रेनी सेनाहरूले आत्मसमर्पण गर्नुपर्ने वा ज्यान दिनुपर्ने बताएका छन्।

एकजना उच्च रुसी अधिकारीले मस्कोको उद्देश्य भनेको स्वघोषित पिपुल्स रिपब्लिक अफ डोनेट्स्क र लुहान्स्कको रक्षा गर्नु भएको बताए। बीबीसी


प्रतिक्रिया दिनुहोस्