चीनको चेतावनीः ताइवान स्वतन्त्र हुन खोजे युद्ध हुन्छ

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ४ : ३७


काठमाडौै। चीनले ताइवान अलग्गिन खोजेको खण्डमा युद्ध सुरुवात हुने चेतावनी दिएको छ।

चीनले आतइतबार ताइवानको स्वतन्त्रता रोक्नको लागि ‘अन्तिमसम्म लड्ने’ चेतावनी दिँदै ताइवानमा विदेशी हस्तक्षेप असफल हुने पनि बताएको छ।

अमेरिकाले पछिल्ला दिनहरुमा ताइवानलाई हतियार बेच्ने गरेको छ। ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सहयोग गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बारम्बार बताइरहेको अवस्थामा अमेरिकालाई इंगित गर्दै चीनले युद्ध हुने बताएको हो।

चीनका रक्षामन्त्री वि फेङ्हीले सांग्रिला संवाद सुरक्षा शिखर सम्मेलनमा भनेका छन्,‘यदि कसैले ताइवानलाई चीनबाट अलग गर्ने हिम्मत गर्छ भने हामी कुनै पनि हालतमा लड्नेछौं र हामी अन्तिमसम्म लड्नेछौं। यो चीनको एक मात्र विकल्प हो।’

‘क्षेत्रीय अखण्डताको रक्षा गर्न चिनियाँ सशस्त्र सेनाको संकल्प र क्षमतालाई कम आँकलन कसैले गर्छ भने त्यो भुल हुनेछ’ उनले अमेरिकातर्फ संकेत गर्दै भनेका छन्,‘कतिपय देशले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्न ‘ताइवान कार्ड’ खेलिरहेका छन्।’

ताइवान चीनमै विलय हुने र त्यो कार्य कसैले रोक्न नसक्ने पनि चीनको भनाइ रहेको छ।

यसअघि एसिया प्रशान्त क्षेत्रमा चीनले उत्तेजक गतिविधि गरेको भन्दै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले चीनको विरोध जनाएका थिए।

वास्तवमा ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ।

तर पछिल्ला वर्षहरुमा चीनले ताइवानमा आक्रामक व्यवहार बढाएको छ। बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ।

चिनियाँ युद्धक विमानहरु दोहोरिँदै यस टापुमा घुस्ने गरेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ।

चीनले भने ताइवानका अलगवावादीबाट खतरा भएकाले आफ्ना सेनालाई हरेक समय युद्धको लागि तयार हुने भनिसकेको छ। अमेरिकाबाट ताइवानले हतियार पाइरहँदा चीन अमेरिकासँग पनि खुशी छैन। अल्जाजिरा


प्रतिक्रिया दिनुहोस्