पेगम्बर मोहम्मद विवादः बंगलादेशमा हिन्दु समुदायको घरमा तोडफोड

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १२ : ५२


काठमाडौं। भारतको सत्ताधारी पार्टी भारतीय जनता पार्टी भाजपाको प्रवक्तामा रहँदा रहँदै नुपुर शर्माले पछिल्लोपटक एक विवादस्पद टिप्पणी दिएकी थिइन्। जसकारण विश्वभरका मुस्लिम राष्ट्रहरु आक्रोशित बनेका छन्।

उनको टिप्पणी भारतको लागि गम्भीर राजनीतिक समस्या बनिसकेको छ। भारतले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदबारे देशको सत्तारूढ दलका नेताले गरेको विवादास्पद टिप्पणीलाई लिएर इस्लामिक विश्वसँगको सम्बन्धलाई साम्य पार्न खोजिरहेको पनि छ।

यतिबेला भाजपाले नुपुर शर्मालाई पार्टीबाट निष्काशित गरिसकेको छ। उनले मुस्लिम धर्मगुरु पेगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेका थिए।

शर्माले गत महिना एउटा टेलिभिजन बहसमा त्यस्तो टिप्पणी गरेकी थिइन्। मुस्लिम समुदायबारे गरिएको उक्त टिप्पणीले घृणा उत्पन्न गराउने भएकाले त्यो भनाइ प्रकाशन र प्रसारण गरिएको छैन।

नुपुर शर्माको भनाइले इश्वरनिन्दाको पराकाष्ठा नाघेको भन्दै कतार, कुवेत र इरानले त भारतीय राजदूतहरुलाई बोलाएर स्पष्टीकरण सोधिसकेको छ।

यी राष्ट्रहरुमा लाखौं भारतीयहरुले काम गर्छन् र यही देशबाट भारतमा अरबौं डलर रेमिटेन्ट भित्रिन्छ। त्यसबाहेक यी राष्ट्रहरुले भारतको उर्जा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्छन्।

यी देशका नागरिकहरुले भारतसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने अभिव्यक्ति दिइरहेका छन्। भाजपाले प्रवक्ता शर्मालाई निष्काशित गरेसँगै आफ्नो पार्टीले हरेक धर्म र संस्कृतीलाई उत्तिकै सम्मान गर्ने जनाएको छ।

शर्माले भने आफूले धेरैपटक हिन्दु धर्मको विरोध भएको सुनेकाले त्यसको प्रतिवाद मात्र गरेको बताएकी छिन्। पछिल्लो घटनाक्रमपछि भने उनले माफी मागेकी छिन्। यद्यपी धार्मिक सहिष्णुतालाई भड्काएको भन्दै उनको भारत भित्रै र विश्वभर आलोचना भइरहेको छ।

यसैबीच कुवेतले पनि भारतको विरोध गर्दै त्यहाँका डिपार्टमेन्ट स्टोरहरुबाट भारतीय उत्पादनहरु हटाएको छ। उता बंगलादेशमा भने शर्माको भनाइसँगै अल्पसंख्यक हिन्दु समुदायमाथि मुस्लिम समुदाय खनिएका छन्।

मुस्लिम समुदायले हिन्दुहरुको घरमा तोडफोड गर्ने खतरा बढेको बताइएको छ। बीबीसीका अनुसार आइतबार मात्र एक हिन्दु परिवारको घरमा मुस्लिम समुदायले तोडफोड मच्चाएका छन्।

यसअघि मुस्लिम अतिवादी संगठन अलकायदाले नुपुर शर्माको अभिव्यक्तिपछि भारतका विभिन्न स्थानमा श्रृंखलावद्ध बम हमला गर्ने चेतावनी दिएको थियो।

भारतीय उपमहाद्वीपमा सक्रिय अलकायदाको क्षेत्रीय समूह ‘एक्यूईएस’ले दिल्ली, मुम्बाई, उत्तर प्रदेश र गुजरातमा बम हान्ने चेतावनी जारी गरेको थियो।।

नुपुर शर्माको टिप्पणीले विश्वभरका मुस्लिमको चित्त दुखेको र खुन उम्लिएको अलकायदाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्